सर्वोच्चमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेका छन्: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन लागेको बताउनुभएको छ । एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको पुष्टि गरिसकेका बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – पाँच जनाको बेन्च बन्छ, दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ ।

अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु (न्यायाधीश)त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरु त छन् । एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो ।

इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् । पूर्व प्रधानमन्त्री ओलीले संसदले प्रधानमन्त्री निर्वाचित गर्नु पर्नेमा अदालतबाटै तोकेर पठाइएकोमा कटाक्ष गर्दै राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताउनुभयो । सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको उहाँको नाइ थियो । एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत प्रष्ट पार्नुभयो ।

उहाँले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत जीकिर गर्नुभयो । प्रधान न्यायाधीश राणाले एमालेलाई सहयोग गरे भनेर महाअभियोग लगाउनेहरुले अरु चारजना न्यायाधीशबारे नबोलेको भन्दै सबै न्यायाधीशले सेटिङमा असार २८ को फैसला आएको बताउनुभयो । ओलीले असार २८ को फैसलाले मुलुकको राष्ट्रिय राजनीतिलाई परमादेशी राजनीति र जनादेशी राजनीतिमा विभाजित गरेको समेत बताउनुभयो । अध्यक्ष ओलीले एमालेले अनुशासन उल्लंघन गर्ने र फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गरेर पठाउँदा सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक समिति कानूनले नचिन्ने फैसला गरेको समेत बताउनुभयो । कानूनको दफाको परिभाषा र कानून पनि नहेरी जहाँनेर एमालेविरुद्ध फैसला गर्नुपरेको छ, घरबाटै ल्याएको फैसला पढेर सुनाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको