
काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संझौता संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबार प्रतिनिधिसभामा एमसीसीलाई टेबल गराउने निर्णय पनि गरेको छ । एमसीसीको चर्काे बिरोध गर्दै आएको सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमसीसी पारित गराउने सहमति जनाएलगत्तै कांग्रेसले बुधवार टेबल गराउने निर्णय गरेको हो ।
आजको बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधवारको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने जानकारी दिनुभएको हो । आज बिहान मात्रै तीन नेताबीच छलफल भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई महाअभियोग लगाएर सर्वाेच्च अदालतमार्फत सभामुख अग्नि सापकोटामाथिको ज्यान मुद्धा र संबैधानिक निकायमा नियुक्त पदाधिकारी हटाउने सर्तमा प्रचण्ड र माधव एमसीसी पारित गर्न सहमत हुनेभएको तथ्य यसअघि नै खुलिसकेको छ ।
प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गर्नु भएको छ । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।