
काठमाडौं । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ। बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए। शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबुल गर्ने विषयमा कुराकानी भएको छ।
अर्को बैठक आज साँझ या भोलि आइतबार पुनः बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अन्नपूर्णलाई जानकारी दिए। बालुवाटारमा तीन शीर्ष नेताबीच भएको छलफलमा गठबन्धन कायम राखेर कसरी एमसीसी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।
त्यस्तै फागुन २ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक सार्न एमालेले आग्रह गरेकोमा उक्त बैठक फागुन ४ गते बस्ने भन्नेबारेसमेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवा संसदमा तत्काल एमसीसी टेबल गर्ने पक्षमा छन् भने अध्यक्षद्वय दाहाल र नेपाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै निर्वाचन पछाडि धकेल्ने प्रयासमा छन्।