जनकपुरधाम । जनमत पार्टी नेपालका कार्यकर्ताले जनप्रतिनिधिको गाडी तोडफोड गरेका छन्। जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन उत्रिएका उनीहरुले जनकपुरमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन्।
राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न जान लागेका बेला मेयरको गाडि तोडफोड भएको हो। मेयर प्रसाई घाइते भएका छन्।
मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रदर्शन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भइरहेको छ। प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरिरहेको छ।
जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘पहिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो। किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ। तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडपको भएको हो।