
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पार्नु भयो । संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनु भयो ।
उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिनु भयो । अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले ग्रयाभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताउनु भयो । उहाँले अष्टवक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेको पनि बताउनु भयो ।
‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन । हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको सृष्टि भएको ठाउँ भएको हुनाले र सभ्यताको विकास यहाँ भएको थियो । पछि अन्त त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति त परपर गईहाल्छ त । यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरु प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने महाकाव्य छ नि । अरु एउटा झिल्कोबाट प्रमिथस भएर निस्के । हाम्रो ठाउँकाहरुलाई दाउरा थप्ने पनि कोही भएन । घिउ थप्ने पनि कोही भएन । केही नगरेपछि निभेर गयो । त्यसकारण हाम्रो ज्ञानचाँही पछाडि पर्यो । उनीहरुको ज्ञान अगाडि बढ्यो । अनि इतिहास के भयो भने ग्यालिलियोले यसो गरे,’ अध्यक्ष ओलीले थप्नुभयो ।
इतिहासको बिषयमा थप ब्याख्या गर्दै ओलीले भन्नुभयो, न्यूटनले ग्रयाभिटेशनको थेउरी पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । यी विद्धानहरुको त कुरै छैन । फष्ट फिलोसफर को थिए ? भन्दाखेरी शुकरात । शुकरातभन्दा हजारौैं वर्ष अगाडि अष्टवक्रजस्ता फिलोसफरहरुको कुरै छैन । त्यसकारण यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तीनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ । तपाईहरुको यो जोगाउने प्रयासलाई धेरैधेरै प्रशंसा गर्दछु । धन्यवाद भन्छु । र तपाईहरुको अभ्यास कायम राख्नुस । मेरो आफ्नो ठाउँबाट तपाईहरुको अभ्यासलाई साथ छ ।’
अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताउनु भयो । उहाँले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताउनु भयो ।