१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने कार्य आजदेखि शुरु

काठमाडौँ । सरकारले आजदेखि देशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीहरुलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो ।

प्रवक्ता मिश्रका अनुसार बालबालिका लक्षित खोप अभियान प्रदेश नं १ का १० जिल्ला, प्रदेश नं २ पाँच जिल्ला, बागमती प्रदेशका काठमाडौं उपत्यका र चितवन बाहेकका सात जिल्लामा शुरु गरिने छ ।

यसैगरी गण्डकी प्रदेशको नौ जिल्ला, लुम्बनी प्रदेशको नौ जिल्ला, कर्णाली प्रदेशका नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्लामा पनि सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने अभियान शुरु हुदैछ । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ ।

यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको