
काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने ब्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाउनु भयो । बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।