एमाले महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन-भत्ता दिने नेता हेर्न आएका हौं

चितवन। एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिनुभयो ९० वर्षीया तुलसी पौडेल। पर्वत निवासी भएकी पौडेल देवघाटमा बस्नुहुन्छ । उहाँ आफूहरु जस्ता बृद्धबृद्धालाई भत्ता दिने नेता हेर्न र कुरा सुन्न आएको बताउनु भयो । एकपटक कांग्रेसलाई भोट दिए पनि कुनै काम नगरेको र एमाले नै आफूहरुको लागि काम गर्ने पार्टी भएकोले महाधिवेशनमा कुरा सुुन्न आएको पौडेलको भनाई छ ।

 

‘माले हुँदाबाटै यस पार्टी (एमाले)लाई भोट दिँदै आएकी छु, बाचुञ्जेल दिइरहन्छु’, पौडेलले भन्नुभयो, ‘भत्ता दिन सुरु गरे, पछि बढाए। वृद्धभत्ता दिने पार्टीका नेता भनेर हेर्न आएकी हुँ।’

नवलपुरको मुक्तिचोक बस्ने कली सुनार बगरको चिसो भुइँमा बदाम खाँदै चासोका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्दै हुनुहुन्थ्यो । उहाँ ओलीलाई राजनेता मान्नुहुन्छ। ओली गरिब दुःखी र असहायको सहारा बनेको उहाँको बुझाइ छ। उमेरले ६० वर्ष पुग्न लाग्नुभएकी उहाँ अर्को सालदेखि भत्ता खाने पाउने आशामा खुसी हुनुहुन्छ।

अर्घाखाँची चिदिकाबाट दुई दिन लगाएर चितवन आइपुग्नु भएको छ, मनकला न्यौपाने। ‘हाम्रो केपी ओलीको कार्यक्रम भनेर आइयो। भोकप्यास छैन। महाधिवेशनमा जिताएर फेरि नाच्ने हो’, उहाँले भन्नुभयो। ओलीको काम, व्यवहार र देशलाई माया गर्ने शैली मन पर्छ उनलाई। ‘उहाँले वृद्धवृद्धा त पाल्नुभयो। अब एउटै बिन्ती छ– युवाहरूलाई पनि स्वदेशमा रोजगारको अवसर जुटाइदिनु पर्‍यो’, उहाँले भन्नुभयो, ‘उहाँकै आशा र भरोसा छ।’

ओलीको स्वर सुन्न भन्दै नवलपुर पिठुवाबाट छोरासँग मोटरसाइकल चढेर महाधिवेनस्थलमा आउनुभयो ७३ वर्षीया विष्णु श्रेष्ठ। वृद्धाभत्ता दिने नेता यिनै भएकाले भाषण सुन्न आएको उहाँले बताउनु भयो। ‘उहाँ मलाई निकै मनपर्ने नेता हो। अहिलेको नेतामध्ये सबैभन्दा मन पर्छ’, उहाँले भन्नुभयो । पर्वतकी हरिकला सुनार पनि ओलीलाई हेर्न आएको बताउनु भयो । ‘उहाँको भाषण निकै मन पर्छ’, उहाँले भन्नुभयो ।

म्याग्दीको रुमा गाउँबाट आएकी मनसुवा गोतामेले ओलीको पार्टीले सहयोग गरेको बताउनु भयो । ‘उहाँ आउने भनेपछि आउन मन लाग्यो। देख्न मन लाग्यो, उहाँ नै हाम्रो नेता हो। अब पनि उहाँले नै जित्नुपर्छ,’ गोतामले भन्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको