प्रधानमन्त्री देउवालाई एमाले नेता शेरबहादुर तामाङको सुझाव: छिटो विश्वासको मत लिनुहोस, फेरि खतरा पर्ला है !

काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले जतिसक्दो छिटो विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले भने,‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस, शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस ।’ उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदैपनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे । उनले भने,‘हामीसँग जनमत थियो । तर, अदालतको परमादेशबाट हामीले सरकार अरुलाई सुम्पिनुपर्यो ।’ उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरुबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भैरहेको पनि सुनाए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि भोट हाल्नेहरुलाई बाटो खुल्ला रहेको पनि सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि सुनाए । उनले देउवाले घोषणा गर्ने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने पनि बताए । उनले भने,‘हामी अरुजस्तो चुनावबाट भाग्नेवाला छैनौं । भाग लिन्छौं ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको