काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ ।
सोही क्रममा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गर्नुभएको छ ।
बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरुबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको उहाँले बताउनुभयो ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु केसी, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसी सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुमध्ये नेताहरु केसीद्वय र डा महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने सहमति हुन नसके अन्य नेताहरुले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ ।