
शिशिर सिंखडा, चितवन । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले शुरु गरेको “एक अक्सिजन कन्सनट्रेटर दुई जिवनदान” अभियानमा ताईवानका समाजसेवी रोहित श्रेष्ठले १ लाख रुपैया सहयोग गर्नु भएको छ ।
श्रेष्ठले अभियानको लागि आज समाजका कोषाध्यक्ष आकाश बन्जारालाई सो रकम हस्तान्तरण गर्नु भएको हो । काठमाडौं महानगर- ३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ, ताइवानमा बस्दै आउनुभएका रोहित ताइपेइ ताइवानका सफल ह्यान्डीक्राफ्ट ब्यबसायी एवं मेडिटेसन तथा साउण्ड थेरापीका मास्टर समेत हुनुहुन्छ । श्रेष्ठले यस अगाडी पनि गोरखाका चेपाङ बालबालिका को शैक्षिक बिकासको लागि तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।
सो अभियानमा हालसम्म करिब ३५ लाख रुपैया संकलन भईसकेको समेत बन्जाराले जानकारी दिनुभयो । बिश्वभर रहेका नेपालीले कोरोना प्रभावित गोरखा जिल्लाबासीलाई राहत दिन सहयोग संकलन अभियान सञ्चालन गरिरहेको समाजका कोषाध्यक्ष तथा कालिका दैनिक अनलाइनका निर्देशक बन्जाराले जानकारी दिनुभयो ।
समाजले ८० वटा कन्सनट्रेटर खरिद गरि हस्तान्तरण गर्दैछ । २ जना बिरामीलाई एकै पटक प्रत्यक्ष प्रयोग गर्न सकिने एउटा कन्सनट्रेटरको करिव १ लाख रुपैया पर्दछ । गोरखाका कुल ६६ वटा अस्पताल, स्वास्थ चौकी र प्राथमिक उपचार केन्द्रमा सो कन्सनट्रेटर हस्तान्तरण गरिनेछ ।