चितवन भेटेरान कप फुटबल: सेमिफाइनल समिकरण पुरा

चितवन । चितवनको भरतपुरमा जारी दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ ।

आज (बिहीबार) सम्पन्न खेलमा जित हात पार्दै कालभैरव भेटेरान हेटौंडा, कैलाली भेटेरान, बुटवल उपमहानगरपालिका भेटेरान र चावहिल भेटेरान काठमाडौं सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आजको पहिलो क्वाटरफाइनल खेलमा काल भैरहवा हेटौंडाले चितवन भेटेरान निलोलाई २-१ ले पराजित गर्‍यो । खेलमा अग्रता भने चितवन निलोले लिएको थियो । खेलको सातौं मिनेटमा रमेश थापाले गोल गर्दै चितवनलाई अग्रता दिलाए । ११ औं मिनेटमा हेटौंडा खेलमा फर्कियो । १९ औं मिनेटमा सुन्दर गोल गर्दै हेटौंडाले २-१ को अग्रता लियो । बाँकी समयमा थप गोल हुन सकेन र हेटौंडा बिजयी भयो ।

फाइनल प्रवेशका लागि हेटौंडाले शुक्रबार चावहिल काठमाडौंको सामना गर्नेछ । चावहिलले आजको अन्तिम खेलमा देहरादुन भेटेरान भारतलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलमा अग्रता भने देहरादुनले लिएको थियो । १५ औं मिनेटमा प्राप्त फ्री किकलाई गोलमा परिणत गराउदै देहरादुनले अग्रता बनाएको थियो । २१ औं मिनेटमा निमा लामाले गोल गर्दै चावहिललाई खेलमा फर्काए । त्यसको दुई मिनेट लगत्तै दोस्रो गोल गर्दै चावहिलले २-१ को जित सुनिश्चित गरेको हो ।

आजको दोस्रो खेलमा चितवन भेटेरान रातोलाई पराजित गर्दै कैलाली भेटेरानले सेमिफाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा कैलालीले चितवन रातोलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी तथा टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो ।

फाइनल प्रवेशका लागि कैलालीले बुटवलको सामना गर्नेछ । बुटवलले आजै सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) आई एक्स भेटेरानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुटवलले क्वाटरफाइनलमा मनाङलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्‍यो । त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । २७ औं मिनेटमा बुटवलले खेलमा अग्रता लिएको थियो । ४७ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो ।

प्रतियोगिता अन्तर्गत भोलि फाइनल प्रवेशका लागि खेलहरु हुनेछन् । पहिलो खेलमा दिउँसो २ बजे बुटवल र कैलाली तथा दोस्रो खेलमा दिउँसो ३:३० बजे कालभैरव हेटौंडा र चावहिल काठमाडौं भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ । चितवन भेटेरान क्लबले आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको