प्रचण्ड-माधव समूहले जुलुस ठुलो बनाउन सगरमाथा बेचिएको भ्रमदेखि पशुपतिको दर्शन गराउने लोभसम्म 

काठमाडौँ । रौतहट सरमुजा घर बताउने सुदामिया सजङबैठा आफू नेपाली कान्ग्रेसको कार्यकर्ता भएको बताउँछीन । बुधवार नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको आमसभामा भेटिएकी सुदामिया उमेरले ७० कटेकी छन् । गाउँमा झगडामा परी जेलमा परेको छोरालाई स्थानीय नेता उपेन्द्र दासले भेटाइदिन्छु भनेपछि आफु  छोरोलाई भेट्न पाइने आशमा काठमाडौं आएको उनले बताइन् ।  काठमाडौँमा जेलमा रहेको छोरालाई भेटाइदिन्छु भन्दै उपेन्द्रले ल्याए पनि उनले छोरालाई भेट्न नपाएको गुनासो गरिन् । काठमाडौँ आएपछि छोरा कुन जेलमा छ भन्ने नै पत्ता नलागेको भन्दै जुलुसमा ल्याइएको उनले बताइन् ।

सुदिमायासँगै भेटिएकी सर्लाही जसोधिया घर बताउने फुलनदेवी साहले आफूलाई भने पशुपति दर्शन गर्न पाइने भएकाले जुलुसमा आएको बताइन । अघिल्लो रात गाडीमै गौशालामा बसेर बिहान पशुपति दर्शन गरेर कार्यक्रममा आएको उनले बताइन् । ‘भाडा लिँदैनन्, दालभात खान दिए फेरी लैजान्छन् उनले भनिन् ।’ उनीसँगै रहेका दर्जनौँ महिलाहरूले पनि आफूहरू यस अघि काठमाडौँ नआएकाले जुलुसको मौका पारेर घुम्न आएको बताए ।

सर्लाही लक्ष्मीपुरका सदिक मन्सुरी काभ्रेको पनौतीमा सिरक डसना बनाउने काम गर्छन् । नेताहरूले जिल्लाबाट फोन गरेर काठमाडौँको  जुलुसमा बोलाएकोले उनी र उनकी श्रीमती काठमाडौँ आएका छन्  । अन्सारीले नेताले भनेपछि कार्यक्रममा आएको बताए । उनले सिरक बनाउने भन्दा जुलुसमा आउँदा फाइदा हुने भएकाले आफू र आफ्नी श्रीमती काठमाडौँ आएको बताए । कति दिन्छन् भन्ने प्रश्नमा उनले यति उति नै भन्ने चाहिँ अहिले नै थाहा नभए पनि सधैँ दिने गरेकाले यसपालि पनि दिने बताए । आफ्नो घर घडेरी नभएको र जग्गा पनि नभएकाले नेताहरूले आफूलाई जुलुसमा गए आफ्नो सरकार हुँदा जग्गा मिलाइदिने आश्वासन दिएको पनि उनले सुनाए ।

प्रचण्ड माधव समूहले आयोजना गरेका अधिकांश बारा, पर्सा र सर्लाहीका जनता काठमाडौँमा आउनुको कारण कि त घुम्नको लागि थियो कि त पशुपतिको दर्शन थियो । युवापुस्ताका मानिसहरू बाहेक अरूलाई राजनीतिक कुरा त थाहै थिएन । अझ रोचक कुरा त उनीहरूले यहाँ आएपछि पनि नेताहरूले के के भने कुरा नै नबुझेको बताए । काठमाडौँको जुलुसमा किन आउनुभयो भन्ने प्रश्नमा अधिकांशको उत्तरबाट स्पष्ट हुन्थ्यो  धेरैजसो मानिसलाई केही न केही आश्वासन बाँडिएको थियो ।

ललितपुर गोदावरी घर बताउने लक्ष्मीमाया तामाङलाई पनि आफू कुन कार्यक्रममा आएको थाहा थिएन । पार्टी विभाजनको कुरा पनि उनलाई थाहा रहेनछ । वैशाखमा चुनाव हुने कुरा भने उनले रेडियोबाट सुनेकी रहेछीन । चुनाव भए मनपरेको पार्टीमा भोट हाल्ने इच्छा रहेको बताउने तामाङले प्रतिगमनको बारे केही थाहा नभएको प्रतिक्रिया दिइन् ।

पर्सा वरियापुरका श्री निवास प्रसाद साह भने आफ्नो पार्टी नेकपा एमाले भएको बताउँछन् । उनी आफ्नो पार्टी फुट्न लागेको भन्दै चिन्तित थिए । उनले जुलुसमा आउनुको कारण पार्टी फुट्न नहुने भन्ने रहेको बताए । नेताहरूले पार्टी फुटाउन लागेकोले खबरदारी गर्न जाऊँ भनेकाले आफू जुलुसमा आएको उनले बताए ।

सगरमाथा बोचियो भन्दै आन्दोलनमा  

रौतहट राजदेवी नपा गौरदेखीपुर ७२ वर्षका हरिनारायण सिंहलाई नेताहरूले प्रधानमन्त्री केपी ओलीले सगरमाथा चीनलाई बेच्न लागेको भ्रम छरेका रहेछन् । चीनले सगरमाथा लिँदै छ रे, टावर समेत बनाइसक्यो रे, सगरमाथाको उत्तरपट्टी पनि मिचेर बगान बनाइसक्यो रे, प्रधानमन्त्री ओलीले पनि चीनसँग मिलेर त्यसैले म त्यसको विरोधमा यहाँ आएको हुँ हरिनारायण सिंहले भने ।

दिनेश घिमिरे/आशिष पौड्याल 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको