काठमाडौं। विभाजनका लागि अग्रसर रहेका पुष्पकमल दाहाल प्रचण्डको खेमामा दोस्रो अध्यक्षको हैसियत तोकिएका माधवकुमार नेपालले शुक्रबार एउटा पत्रकार सम्मेलनमा भने– चुनाव चिन्ह सूर्य र पार्टी कार्यालयमा केपी ओलीले दाबी नगर्नू।
नेपाल यतिमा मात्रै रोकिएनन्, तत्कालिन नेकपा एमालेमा लामो सहकार्य, स्पर्धा गरेका ओलीलाई गैरकम्युनिस्ट भएको घोषणा गरिदिए। पार्टी महाधिवेशनमा पहिलो स्पर्धाका क्रममा ओलीसँग पराजित भएका नेपालले सहमतिका नाममा नेतृत्व पाएको विगत बिर्सिएका छन्।
गुट र समूहलाई चलाउनका लागि बुरुक्क हुने नेपाल कुनै पनि पदका लागि हुरुक्क रहेको हालैका घटनाक्रमले स्पष्ट देखाएको छ। यसबाहेकका पनि उनी पदका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने पर्याप्त उदाहरण छन्।
‘यति लामो कम्युनिस्ट राजनीतिमा नेपालले प्रतिस्पर्धा भनेको आम चुनावमा मात्र गरेको पाइएको छ। एक पटक मात्रै पार्टीको आन्तरिक जीवनमा लडेका उनी पराजित भए तर पदका लागि मरिहत्ते गर्दै घेराबन्दीमा लागे’, नेकपाका एक केन्द्रीय सदस्य भन्छन्,‘पार्टीभित्र उनका यस्ता अमर्यादा र बाहिर अरुलाई खसालेर बोल्ने शैली मात्र छ।’
दासढुंगामा मदन भण्डारीको दुर्घटनामा निधन भएपछि पार्टीका अन्य नेताले उनलाई महासचिव बनाएका थिए। तर, उनले १५ बर्षसम्म नेतृत्व हस्तान्तरणका लागि महाधिवेशनसम्मको आह्वान गर्न सकेनन्। बरु, ०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा देशको दोस्रो पार्टीका रुपमा सदनमा ठूलो हिस्सामा रहेको तत्कालिन एमालेलाई खुम्चाएर तेस्रोमा बस्न बाध्य पारेका थिए। ‘त्यहि बेला दुई ठाउँबाट चुनाव हारेर नाकमुख देखाउन नसकेपछि राजीनामा गरेका थिए, अरु भए राजनीतिबाट सन्यास लिन्थे, उनलाई फेरि पद चाहियो’, ति नेता भन्छन्।
संविधानसभामा प्रचण्डसहितले सहमतिका आधारमा उनलाई संवैधानिक समितिको सभापति बनाउनेगरी ल्याएका थिए। रुक्माङ्गत कटवाल प्रकरणमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएपछि संविधान निर्माण लथालिङ्ग छाडेर प्रधानमन्त्रीका लागि नेपाल गिरीजाप्रसाद कोइरालाको शरणमा पुगेको ति नेताले बताए।
‘राजालाई प्रधानमन्त्रीका लागि दाम चढाएको निवेदन हालेको मात्र होइन, आधा प्रतिगमन सच्चियो भन्नेसम्मका उनका हर्कतलाई लोकतान्त्रिक भनिन्छ कि, पदका लोभी?’, एउटा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रश्न गरेका छन्,‘सँधैभरी पद चाहिने?’
नेकपाको पछिल्लो विभाजनमा पनि नेपालको गुटबन्दी सोच र पदबिना बस्नै नसक्ने आचरण कारक रहेको कतिपयको ठम्याई छ। महाधिवेशनमा ओलीसँग पराजय भोगे पनि सम्मानित पद दिएर सँगै हिँडाएको नेपालले बिर्सिएका छन्। एकीकरणको पहल ओलीको नेतृत्वमा भएको तर त्यसलाई जोगाउन नदिनका लागि नेपालले जहिले पनि अड्को थापेको बताइन्छ।
‘उनी पदभन्दा बाहेक बस्न सक्तैनन् भन्ने त प्रचण्डको दोस्रो अध्यक्ष हुँदा पत्ता लाग्यो नि। नियमले नै भन्ने हो भने तत्कालिन एमालेमा बरियताक्रममा उनीभन्दा माथि झलनाथ खनाल हुन्, नेकपामै पनि त्यो वरियता थियो’, एक नेता भन्छन्,‘पद नचाहिएको भए त्यो अध्यक्षमा खनाललाई उनले प्रस्ताव गर्न सक्ने थिएनन्? पार्टी चाहिएको, कम्युनिस्ट आन्दोलन चाहिएको भए नैतिक राजनीति देखाउनुपथ्र्यो, देखाए त?’