
काठमाडौं, कात्तिक १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुत्रीद्वयलाई भारतको नयाँ दिल्ली पठाएको खुलासा भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका पुत्रीद्वय नयाँदिल्ली पुगेको रहस्य खुलेको हो ।
झापाका नेकपाका एक चर्चित व्यापारीले उनिहरुलाई दिल्ली लैजाने र ल्याउने व्यवस्थापनमा सहयोग गरेका थिए । ति व्यापारीका अनुसार दशैंका टिकाको भोलीपल्ट काकडभिट्टाबाट बागडोरा हुँदै रेणु दाहाल र गंगा दाहाल नयाँदिल्ली पुगेको जानकारी दिए । उनिहरुले त्यहा केही राजनीतिक भेटवार्ता गरेर नेपाल फर्केपछि मात्रै प्रधानमन्त्री ओलीलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको पनि खुलेको हो ।
‘‘बुबाका प्रतिनिधि भएर गएका छोरीहरूले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ,’’ स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे।’’
काठमाडौं विमानस्थलको प्रयोग गर्दा नयाँ दिल्ली गएको रहस्य खुल्ने भएपछि उनिहरुले बागडोरा विमानस्थल चयन गरेका थिए । भेटमा के कुराकानी भएको हो भनेर कसैले पनि खुलाउन भने चाहेको छैन । रेणु भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ भने गंगा उहाको सचिवालयमा कार्यरत रहनु भएको छ । from. janatatimes