फ्रान्समा दोस्रो पटक देशभर लकडाउन घोषणा: स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने

फ्रान्स । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि फ्रान्समा दोस्रोपटक देशभर लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर लकडाउन घोषणा गरेको बताइएको छ । एजेनसीहरुका अनुसार यो लकडाउन आगामी नोभेम्बर महिनाभर जारी रहने छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै अक्टोबर ३० अर्थात् भोलि शुक्रबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेका हुन् ।

लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन उनले देशवासीमा अपिल गरेका छन् ।

स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छ भने रेष्टुराँ र बारजस्ता व्यवसाय बन्द रहने छन् ।

मंगलबार मात्रै फ्रान्समा ३३ हजार जना नयाँ संक्रमित फेला परेका थिए । यो संख्या अप्रिल महिनापछि सबैभन्दा धेरै भएको पनि बताइएको छ ।

राष्ट्रपति म्याक्रोले देशमा कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै यो पहिलेको भन्दा पनि खतरनाक हुने दाबी गरेका छन् ।

फ्रान्सलगायत अधिकांश युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । धेरै देशहरुले रात्रिकालीन कर्फ्युको सामना समेत गरिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको