काठमाडौं, असोज ८ । चीनका राष्ट्रपति सी जिनपिङले चीन अब कुनै पनि प्रकारको नयाँ शीतयुद्ध नचाहने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय महासभालाई सम्वोधन गर्दै राष्ट्रपति सीले चीनले कुनै पनि नयाँ शीतयुद्धमा भाग नलिने स्पष्ट पार्नुभएको हो । यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चिनको हात रहेको आरोप लगाउँदै आउनुभएको छ ।
ट्रम्पले महामारीका लागि चिनलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । राष्ट्रपति ट्रम्पले चिनले आन्तरिक आवतजावतमा रोक लगाएर अन्र्तराष्ट्रिय उडानमा अनुमति दिँदा भाइरस विश्वभर फैलिएको दावी गर्नुभयो । चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख देश हो, जुन शान्तिपूर्ण, खुला सहकारी र साझा विकासका लागि प्रतिबद्ध रहेको सीको भनाइ छ ।
यसबारे प्रष्ट्याउँदै राष्ट्रपति सीले भन्नुभयो, ‘हाम्रो कुनै पनि देशसँग चिसो वा तातो लडाईं लड्ने उद्देश्य छैन।’ यसभन्दा अघि संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले चीन र अमेरिकाबीच नयाँ शीतयुद्धको थालनी भएको चेतावनी दिनुभएको थियो । तर, सीले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयता र अन्तर्राष्ट्रिय प्रणालीको संरक्षणको पक्षमा चीन रहेको बताउनुभएको छ ।