
काठमाडौं, जेठ १७ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार शुरु गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तयार पारेको कार्यविधिमा केही परिमार्जन गर्दै उद्धार कार्य शुरु गर्ने निर्णय गरेको हो ।
कार्यविधि पारित गरेसँगै अब उद्धार कार्य शुरु हुनेछ । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासले नाम संकलन गरेर पठाउने छन् । सोही अनुसार सरकारले विमान पठाएर उद्धार कार्य शुरु गर्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय पनि गरेको छ । जेठ २० गतेसम्मको लकडाउनलाई थप १२ दिन लम्बाउने निर्णय भएको छ । यसैगरी अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।