
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ३ लाख ६२ हजार २३ पुगेको छ । विश्वभर २९ लाख ६१ हजार ८ सय ९५ संक्रमित कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । संक्रमित मध्ये ५३ हजार ९ सय ७५ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार विश्वभर अहिलेसम्म ५९ लाख ९ सय ७ जनालाई कोरोना लागि सकेको छ । त्यसमध्ये २५ लाख ७७ हजार २ सय ३६ जना कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् ।
कोरोना भाइरसले पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट्र अमेरिकालाई बढी सताएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार २ सय ३० जना पुगेको छ । त्यहाँ अझै ११ लाख ६६ हजार ४ सय ११ जना संक्रमित छन् । संक्रमित मध्ये १७ हजार २ सय २ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा अहिलेसम्म १७ लाख ६८ हजार ४ सय ६१जनालाई कोरोना लागि सकेको छ । त्यस मध्ये ४ लाख ९८ हजार ४ सय २० जना भने कोरोना मुक्त भएका छन् । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोरोनाबाट जीवन गुमाउनेको संख्या ३७ हजार ८ सय ३७ नाघेको छ । त्यहाँ २ लाख ६९ हजार १ सय २७ संक्रमित छन् । कोरोनाले अहिलेसम्म इटालीमा ३३ हजार १४२ जना, स्पेनमा २७ हजार १ सय १९जना , फ्रान्समा २८ हजार ६ सय ६२ जना र रुसमा ४ हजार १ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाबाट ४ हजार ७ सय ११ जनाले जीवन गुमाएका छन् । भारतमा अहिलेसम्म १ लाख ६५ हजार ३ सय ८६लाई कोरोना लागि सकेको छ । त्यसमध्ये ७० हजार ९ सय २० जना भने कोरोना मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्मको तथ्याङक हो ।