काठमाडौं । सीमा भनेको सार्वभौम अर्थात् देशको सबैभन्दा अन्तिम भूभाग हो । जहाँ दुई देशबीच भौतिक तरिकाले स्तम्भहरु निर्माण गरिएको हुुन्छ । नेपाल र भारतबीच पनि सीमा स्तम्भहरु बनाइएका छन् । सीमा रेखाको दुवैतर्फ दशगजा क्षेत्रको विकास गरिएको छ ।
सीमा अति संवेदनशील विषय हो । देशको सानोतिनो भाग मिचिँदै गयो भने अन्तिममा देशै नरहन पनि सक्छ । आपसी समझदारीका साथ पुराना नक्सा तथा डकुमेन्टका आधारमा नेपाल–भारत सीमा विवाद समाधान गर्नुपर्नेमा भारतले त्यसलाई नकार्दै आएको छ । सीमा विवाद समाधानको विषय उठेपछि भारतले सुस्ता र कालापानी क्षेत्रबाहेकका विषयमा मात्र छलफल गर्न सकिने बताउँदै आएको छ ।
पृथ्वीनारायण शाहले नेपाललाई वि.सं. १८२६ मंसिर १ गते एकीकरण गरेपछि नेपाल–भारत बीचको सीमा विवाद शुुरु भएको मानिन्छ । सन् १८१६ मार्च ४ मा दुई देशबीच सुगौली सन्धि भएपछि नेपालले आफ्नो भूमि गुमाएको छ ।
सुगौली सन्धिपछि नेपालले मेची नदीदेखि टिष्टासम्म, महाकाली नदीदेखि सतलज र तराई क्षेत्रसमेत गुमायो । त्यतिबेला नेपाल तराईविहीन थियो । सन् १८१६ डिसेम्बर ११ मा नेपालले पूर्वी तराईको राप्ती–कोशी क्षेत्र फिर्ता पायो भने १८६० नेभेम्बर १५ मा पश्चिम तराइको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएको थियो ।
प्राकृतिक स्रोत साधान तथा यहाँको मौसमका कारण भारतले नेपाली भूूमिमा आँखा लगाइरहेको छ । अहिले पनि नेपालको भारतसँग सीमा जोडिएको २६ जिल्लामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा अतिक्रमण भएको र ६० हजार ६६२ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ ।
भारतीय प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका प्रतिनिधि नेपाल आउँदा नेपालसँगको सीमा विवाद समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउँछन् । तर, नयाँ दिल्ली पुुगेपछि उनीहरु कानमा तेल हालेर बस्ने गरेका छन् । धेरै पटक सीमा विवाद मिलाउने पहल भए पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।
२३ जिल्लामा सीमा विवाद
सुगौली सन्धिले नेपालको पश्चिमी सीमा महाकाली नदी तोकेको छ । महाकाली नदीको मुहान कुन हो भनी निर्धारण हुन नसक्नु नै कालापानी समस्याको मुख्य कारण मानिन्छ । लिम्पियाधुरा क्षेत्रलाई भारतले महाकालीको मुहान नमानेर सबैभन्दा बढी अतिक्रमण गरेको छ ।
पुराना नक्सा र दस्तावेजमा भने महाकाली नदीको मुहान लिम्पियाधुरा उल्लेख छ । तर, १९६२ मा भारत–चीन सीमायुद्धका कारण भारतीय सेनाले नेपाली भूमिमा अड्डा जमाएको हो ।
सुुस्ता र कालापानी मात्र होइन कञ्चनपुुर, डडेलधुरा, बाँके, बर्दिया, दाङ, कपिलवस्तुु, रुपन्देही, रौतहट, सप्तरीलगायतका सीमावर्ती क्षेत्रमा बस्ने नेपाली नागरिकले सीमा विवादकै कारण सधैं सास्ती खेप्नुु परिरहेको छ ।
नेपालको ६०६ वर्गकिलोमिटर जमिन भारतले विभिन्न बहानामा मिचेको सीमाविद् श्रेष्ठको दावी छ । तर, नापी विभागले भने सीमावर्ती क्षेत्रमा विवाद भएका क्षेत्रबारे दुई देशका प्रतिनिधिबीच छलफल हुने क्रम जारी रहेको जनाएको छ ।
नेपालका २३ वटा जिल्लामा भने भारतले कुनै न कुनै रुपमा नेपाली जमिन अतिक्रमण गरेको छ । सबैभन्दा धेरै सुदूरपश्चिमको दार्चुला जिल्लाको ब्यास र आसपासका क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सबैभन्दा धेरै ३७० वर्गकिलोमिटर जमिन भारतले अतिक्रमण गरेको छ । दार्चुलापछि सबैभन्दा धेरै नवलपरासीको भूमि मिचिएको छ । सुस्ता र आसपासको क्षेत्रमा भारतले १४५ वर्गकिलोमिटर जमिन मिचेको छ ।
भारतले कुन जिल्लामा कति अतिक्रमण गर्यो सीमा ?
नेपालको ६०६ वर्गकिलोमिटर क्षेत्रफल मिचिए पनि अहिलेसम्म फिर्ताका लागि सरकारी पक्षबाट कुनै पहल हुन सकेको छैन । यसले सीमावर्ती विभिन्न २३ जिल्लाका सीमावर्ती क्षेत्रमा बस्ने नेपाली नागरिक र भारतीयबीच द्वन्द्व चल्दै आएको देखिन्छ । तराईको धनुषा र पहाडी क्षेत्रका डडेल्धुरा तथा बैतडीमा मात्र सीमा विवाद छैन ।
भारतीय सुरक्षाकर्मीबाट नेपालीको हत्या श्रृंखला
नेपाल भारत सीमावर्ती क्षेत्रमा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)ले सन् २००१ बाट आतंक फैलाउन थालेको हो । बर्दिया, मोरङ, सप्तरी, कञ्चनपुर, नवलपरासीलगायतका जिल्लाका बासिन्दा सबैभन्दा बढी प्रभावित छन् ।
वि.सं. २०७३ सालमा कञ्चनपुरका गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोलीबाट हत्या गयो । त्यसअघि विभिन्न जिल्लामा पछिल्लो दशकमा हत्याका श्रृंखला बढिरहेका छन् । भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीको पनि हत्या गरेका थिए । वि.सं. २०६७ मा बर्दियाको जमुनीका ५२ वर्षीय शाहीको एसएसबीले गोली हानी हत्या गरेको थियो ।
मोरङमा पनि २०६८ सालमा अमाहीबरियातीका वासुदेव साहको हत्या भयो । त्यतिबेला प्रहरी हवल्दार शम्भु चौधरीमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । त्यस्तै, ०७२ सालमा मोरङकै रानी भन्सारमा भारतीय सुरक्षाकर्मी आएर नेपाल प्रहरीका असई प्रदीप गिरीमाथि आक्रमण गरेर उनको हतियार समेत लुटेको थियो । २०७२ जेठमा बर्दियाको जमुनीबजारमा धनबहादुर सुनार, किरण राई र गोरे नेपालीलाई बाख्रासहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जेल पठाए ।
२०७२ मंसिरमा झापाको केचनाबाट एसएसबीका १३ जवान नेपाल प्रवेश गरेर ज्यादति गरे । एसएसबीले केचनाका मोहम्मद आलमलाई कुटपिट गरेका थिए । २०७२ कै मंसिरमा सुनसरीको भन्टाबारीमा नेपाली भूमिमै आएर अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवमाथि भारतीय सुरक्षाकर्मीले गोली बर्साए ।
भारतीय सुरक्षाकर्मीले २०६८ साल असोजमा कञ्चनपुरको भुजेलामा प्रवेश गरी स्थानीय कल्याण लुहारलगायतका घर भत्काए । त्यतिबेला ३५ जना सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । त्यस्तै, भारतीय सुरक्षाकर्मीको आक्रमणबाट २०७१ सालमा महोत्तरीको मटिहानीका राजेश मण्डललगायत ६ जना गम्भीर घाइते भए । त्यही वर्षको चैतमा चितवनको माडी क्षेत्रमा एसएसबीका जवान आएर स्थानीय पूजारीलाई पोशाक परिवर्तन गर्न दबाब दिए । यही वर्ष पशुपतिनाथको दर्शन गर्ने भन्दै कम्ब्याड पोशाकमा भारतीय सुरक्षाकर्मी मकवानपुरको हेटौँडा आइपुगेका थिए ।
आतंक मच्चाउने एसएसबी के हो ?
भारतले सेन्ट्रल आर्म पुलिस फोर्सेस (सिएपिएफ) अन्तर्गत विभिन्न ६ वटा फोर्स गठन गरेको छ । त्यसमध्ये एक सशस्त्र सीमा बल (एसएसबी) हो । एसएसबी भारत–चीन युद्धपछि सन् १९६३ मा गठन गरिएको हो । एसएसबीलाई सीमा निगरानी, अवैध आप्रवास तथा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी छ ।
पहिले पहिले यसलाई चीन सीमावर्ती क्षेत्रमा खटाइएको थियो । नेपाल–भारत सीमा क्षेत्रमा भने सन् २००१ देखि खटाइएको हो । नेपाल–भारत सीमा क्षेत्रमा मात्र ४५ हजार फौज खटाइएको छ ।
सुरक्षा मामिलाका जानकार एवं कुटनीतिज्ञ डा. दीपकप्रकाश भट्टका अनुसार भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा अन्य राज्यका जवान खटाउने गरेको छ । जनतासँग सम्बन्ध राम्रो हुने भएकाले उत्तरप्रदेश, उत्तराञ्चल, बिहार र पश्चिम बंगालका नागरिकलाई नेपाली सीमा क्षेत्रमा नखटाउने गरेको उनको भनाइ छ ।
पाकिस्तानीको नेपालमा सहज पहुँच भएको भन्दै नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतले एसएसबी खटाउने गरेको हो । एसएसबीले सीमावर्ती नेपाली क्षेत्रमा गोली हान्ने, नेपाली नागरिकलाई दुःख दिने, लुटपाट मच्चाउने जस्ता हिंसात्मक क्रियाकलाप गरिरहेको छ । भारत सरकारले भने सधैं भारतीय सीमा सुरक्षाबलको साथ दिने गरेको छ ।