डा. सोमराज लामिछाने
हाल कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रणको लागि लकडाउन चलिरहेको छ । तसर्थ आपतकालिन बाहेक अन्य अवस्थाहरुमा बिरामीलाई अस्पताल जान सहज नहुन सक्छ । त्यसैले यस्तो अवस्थामा कुन बेला अस्पताल जाने र कुन अवस्थालाई सामान्य मान्ने भन्ने कुरा आम मानिसको चासो बन्न सक्दछ । तसर्थ सबैजनाले आपतकालिन अवस्था बारे जान्न जरुरी छ, जुन अवस्थामा अस्पताल नगई हुन्न । यसै सन्दर्भमा यहाँ न्यूरो सम्बन्धि आपतकालिन अवस्थाको बारेमा चर्चा गरिदैछ ।
१. दिमागको रक्तनली फुकेर फोका परेको अवस्था र त्यो फुटेको अवस्था(Aneurysm Rupture) – यदि दिमागलाई रगत पु¥याउने रक्तनली फुकेर फोका परेको छ भने त्यसलाई Aneurysm भनिन्छ । यो जुनसुकै बेला पनि फुट्न सक्दछ । यदि यो फुटेमा दिमागमा रगत जम्मा हुन्छ र यो आपतकालिन अवस्था हो । Aneurysm फुटेको अवस्थामा जिन्दगीमै हालसम्मकै खराब टाउको दुखाई (Worst Headache of Life) हुन्छ । दिमागको रक्तनलीको CT Angiography गरेर Aneurysm भनेर चाल पाउन सकिन्छ । यो एउटा आपतकालिन अवस्था हो र तुरुन्त यो अवस्थामा अस्पताल जानुपर्दछ ।
२. मस्तिष्कघात (Strove/CVA) – मस्तिष्कघात दुई प्रकारका हुन्छन् ।
(क) मस्तिष्कमा रगत जम्नु (Brain Hemorrhage) –
यस अवस्थामा हाम्रो दिमागको भागमा रगत जम्मा भई टाउको दुख्ने, बेहोस हुने, वान्ता हुने, शरीरको एकापट्टिको भाग नचल्ने, लाटो हुने, कमजोर हुने, मुख बाङ्गिने हुन्छ । यो प्रायः उच्च रक्तचापका बिरामी (High BP Patient) र मुटु रोग आदि भएका बिरामीमा बढी हुन्छ ।
(ख) मस्तिष्कमा रगत नपुग्नु (Brain Ischemia) –
यो अवस्थामा दिमागको रक्तनली संकुचित वा अवरोध भई दिमागमा रगत पुग्दैन र शरीरको एकापट्टिको भाग नचल्ने, कमजोर हुने, लाटो हुने, मुख बाङ्गिने हुन्छ । मधुमेह रोगी, मुटु रोगी, शरीरमा बोसो पदार्थको मात्रा बढी हुने बिरामीलाई यस्तो हुन सक्दछ ।
३. दिमागमा रगत जमेको अर्को अवस्था (Chronic Subdural Haematoma) –
वृद्धवृद्धा, धेरै मादक पदार्थ (अल्कोहल) सेवन गर्ने, टाउकोमा चोट लागेपछि बोली लरबराउने, हिड्दा खुट्टा लरबराउने, स्मरण शक्ति कम हुने, टाउको दुख्ने आदि भएमा आपतकालिन अवस्था सम्झी अस्पताल जानुपर्दछ ।
४. छारे रोग (Epilepsy) –
पहिलो पटक शरीर काम्ने, छारे रोग भएमा अथवा छारे रोगको औषधी सेवन गरिरहेमा निरन्तर छारे रोग देखिएपछि तुरुन्त अस्पताल जानुपर्दछ ।
५. ढाडको नसा च्यापिएको अवस्था (Prolapse of Intervertebral Disc) –
एक्कासी ढाड र खुट्टाको दुखाईसँगै खुट्टा कमजोर भएमा, पिसाव रोकिएमा, कम्मरमुनिको भाग लाटो भएमा ढाडको नसा च्यापिएको हुन सक्दछ । तसर्थ तुरुन्त अस्पताल जानुपर्दछ । तर अहिलेको परिप्रेक्ष्यमा निम्न अवस्थाहरुमा तुरुन्त अस्पताल जानुपर्ने नहुन सक्दछ । ती अवस्थाहरु निम्नानुसार छन् ः
(क) सामान्य टाउको दुखाई
(ख) Migraine टाउको दुखाई जुन लामो समयदेखि छ र औषधी सेवन भइरहेको छ ।
(ग) लामो समयदेखि कम्मर दुख्ने र खुट्टा झमझमाउने अवस्था
(घ) पहिलेदेखि नै कम्मरको नसा च्यापिएको औषधी सेवन गरिरहेका बिरामीहरु, फिजियोथेरापी गरिरहेका बिरामीहरु
(ङ) लामो समयदेखि छारे रोगको औषधी सेवन गरिरहेका बिरामीहरु (नयाँ छारे रोगको लक्षण नदेखिएका बिरामीहरु)
(च) टाउको तथा ढाडको अप्रेसन भएर घाउ निको भइसकेका बिरामीहरु
यी अवस्थाहरुमा चिकित्सकसँग सरसल्लाह भने कुनै न कुनै माध्यमद्वारा लिन सकिन्छ ।
(डा. लामिछाने कलेज अफ मेडिकल साइन्सेस, शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर, चितवनका कन्सल्टेन्ट न्यूरोसर्जन हुन् ।)