
एजेन्सी । कोरोना भाइरसका बारेमा सकरात्मक तथा नकरात्मक दुवै प्रकारका रहस्य सार्वजनिक भइरहेको छ । यसैक्रममा एक अमेरिकी वैज्ञानिकले स्वास लिने र बोल्ने क्रममा पनि कोरोना भाइरस फैलिन सक्ने दावी गरेका छन । कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएपछि अहिले विभिन्न प्रकारका अध्ययन अनुसन्धान चलिरहेको छ । कोरोना भाइरसको आम लक्षण रुघाखोकी, ज्वरो र स्वास लिनका लागि समस्या हो । कोरोनाका कारण मानिसमा घाँटीमा पनि समस्या हुन्छ ।
अमेरिकाको नेशनल इन्टिच्युट अफ हेल्थको सरुवारोगका विशेषज्ञ वैज्ञानिक एन्थोनी फौसीले अमेरिकी न्युज च्यानल ‘फक्स न्युज’सँगको कुराकानीमा हाच्छ्यु, खोकीसँगै कुराकानी र स्वासको माध्यमबाट पनि कोरोना भाइरस फैलिन सक्ने बताएका छन् ।
डाक्टर एन्थोनीले आम नागरिकलाई मास्कको प्रयोग गर्न जोड दिएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (WHO)ले मास्क अनिवार्य नभएको जनाएको थियो । तर पछि डब्ल्युएचओले आफ्नो भनाइको खण्डन गर्दै मास्क लगाउनु पर्नेमा जोड दियो ।
नेशनल एकेडेमी अफ साइन्सेज अमेरिकाले ह्वाइट हाउसलाई पत्र लेखेरै अनुसन्धानको रिपोर्टका विषयमा जानकारी गराएको छ । अनुसन्धानमा हावामा पनि लामो समयसम्म कोरोना भाइरस रहन सक्ने जनाइएको छ । यसअघि अमेरिकी स्वास्थ्य एजेन्सीले खोकी, हाच्छुयुँ र र्याललगायतबाट मात्र सर्न सक्ने जनाएको थियो ।
न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक विशेष रिपोर्टमा भने कोरोना भाइरस हावामा तीन घन्टासम्म रहन सक्ने उल्लेख गरिएको छ ।