महाकाली नदीमा पौडिएर नेपाल छिरे सीमामा रोकिएका २ नेपाली

बैतडी । भारतीय सीमा धार्चुलामा रहेका नेपाली कामदार नेपाली सीमा बन्द भएपछि महाकाली नदिमा पौडी खेलेर नेपाल भित्रिएका छन् ।

सोमबार बैतडीको डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री र अर्का एकजना नेपाली महाकालीमा नदी पौडिएर पार गरी नेपाल आएका हुन् । नेपाल प्रवेश गर्ने पुल बन्द हुँदा सीमामा रहेका उनी पौडी खेलेर नेपाल आएका हुन् ।

भारतको रीमामा मजदुरी गरी घर फर्किन लागेका उनी तीन दिनदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । नेपाल आएका उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ ।

नेपालमा हाल पाँच जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण देखिएकाे छ, जसमध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् । काेराेना संक्रमित बढेसँगै नेपालमा चैत्र २५ गतेसम्म लकडाउन गरिएकाे छ । हवाइ उडानमा प्रतिबन्ध लागाउनुका साथै सीमा नाकाहरू समेत बन्द गरिएकाे छ । त्यसकारण पनि अहिले दार्चुला सीमा नाकामा ३ सय बढी नेपाली रोकिएका छन्। नेपाल आउन दिनुपर्ने उनीहरुको माग छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पनि दार्चुलासँग जोडिएको भारतीय सीमा धार्चुलामा रहेका नेपालीहरूलाई तत्काल नेपाल प्रवेशको प्रबन्ध गर्न माग गरेका छन्।

देउवाले सामाजिक सञ्जालमार्फत भारतीय सीमा धार्चुलामा अलपत्र परेका नेपालीहरूलाई आवश्यक प्रक्रिया पुरा गरेर नेपाल प्रवेशको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन्।

‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के हो ? दार्चुलाको सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौँ नेपालीहरूलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु,’देउवाले ट्विटरमा भनेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको