
वासिंगटन डिसी । संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरुभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ ।
चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय भएको छैन तर यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ ।
तथ्यांकअनुसार, मार्च २६ तारिक विहीबार अपरान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । जुन चीनको भन्दा
२ हजार ३ सय ८७ जनाले बढी हो । चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार २ सय ८५ छ । नयां संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २६ तारिक सांझसम्ममा १३ हजार ६ सय ८५ नयां केसहरु थपिएका छन् । न्यूयोर्क शहर अमेरिकामा सबैभन्दा बढी संक्रमित भएको शहर भएको छ ।
चीनमा संक्रमणको दर निकै कम छ । आज चीनमा ६७ वटामात्रै नयां संक्रमणका केसहरु आएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार, आजसम्म ११ सय ७६ जनाले यो संक्रमणका कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् भने सबैजसो राज्यहरुमा यो भाइरसको संक्रमण फैलिइसकेको छ ।
भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुमा इटाली अगाडि छ । यहां ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ४ हजार १ सय ५४ जनाको देहावसान भइसकेको छ । चीनमा भने हालसम्म ३ हजार २ सय ८७ ले ज्यान गुमाएका छन् ।