
काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार एकैदिन २ जनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो ।
आइतबार भारतको बिहार राज्यको पटनास्थित एम्स अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका ३८ बर्षीय सैफ अली नाम गरेका ब्यक्ति केही दिनअघि मात्र कतारबाट फर्केको र चेकजाँचका क्रममा उनमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । अस्पतालको आइसोलेसनमा राखिएको उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
आइतबार दिउँसो नै गुजरातको एक अस्पतालमा ६७ बर्षीय बृद्धको मृत्यु भएको छ । उनि गुजरातमा कोरोनाभाइरसबाट मृत्यु हुने पहिलो ब्यक्ति हुन् ।
भारतमा हालसम्म ३ सय ४१ जना संक्रमित भेटिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहान जनता कर्फ्यु घोषणा गरि सर्वसाधारणलाई घरबाहिर ननिस्कन निर्देशन समेत दिइसकेका छन् ।