अन्तर्राष्ट्रिय उडान आज रातिदेखि नहुने, यात्रु लिन खालि विमान मात्रै आउन पाउने

काठमाडौं । सरकारले घोषणा गरेअनुसार आज मध्यरातबाट  कुनै पनि अन्तर्राष्ट्रिय उडान नहुने भएको छ ।

सरकारकाे निर्णय पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार मध्यरातिबाट  अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे हाे । रातिदेखि कुनै पनि विमान कम्पनीले नेपालमा उडान गर्न पाउँदैनन् ।

यात्रु लिन खालि विमान आउन भने राेकिएकाे छैन ।

कुनै पनि यात्रु नलिइ खालि विमान आएर नेपालबाट यात्रु लैजान पाउने प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षत्रीले बताए । “आज रातिदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नेपालमा गर्न पाइनेछैन,” उनले भने “तर, जुनसुकै मुलुकबाट खालि विमान आएर यहाँ भएका प्यासेन्जर लैजान पाउँछन् ।”

उनका अनुसार फाईटर फ्लाईट, रेस्क्यू फ्लाईट र एयर एम्बुलेन्स भने नेपाल आउन सक्नेछन् । सरकारले यसअघि नै काेराेना अति प्रभावित मुलुकबाट उडानमा प्रतिबन्ध लगाइसकेकाे थियाे ।

यसअघि युरोपका सबै मुलुकसहित पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुक, दक्षिण काेरिया, जापान, इरान, मलेसिया, टर्कीबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातीदेखि लागु हुनेगरी आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार मध्यरातदेखि मार्च ३१ मध्यरातिसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान हुने छैनन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको