शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा जंगली हात्तीको कारण गाउँलेहरु आतंकित भएका छन् । ११ दिनदेखि लगातार हात्तीले गाउँमा प्रवेश गरी खेतीबाली खाइदिने, घरहरु भत्काइदिने गर्नाले गाउँलेहरु त्रसित भएका हुन् ।
आज राती मात्रै पनि हात्तीले स्थानीयको केरा खेती, मकै खेतीहरु खाइदिएको चतुर्मुखी सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद घिमिरेले जानकारी दिनुभयो । हरेक राती सामुदायिक वनबाट हात्ती आई गाउँ प्रवेश गर्नाले गाउँलेहरुले राम्रोसँग सुत्न पनि पाएका छ्रैनन् भने लगाएको खेतीबाली नष्ट गरिदिँदा लाखौँको नोक्सानी समेत भएको अध्यक्ष घिमिरेले बताउनुभयो ।
सो हात्तीले गोविन्द प्रसाद दाहालको १ बिगाहा केराखेती, चुनक बहादुर श्रेष्ठको १ कठ्ठा मकैखेती, भगवती श्रेष्ठको २ कठ्ठाको मकैबाली, बुद्धिमान मगरको ४ कठ्ठाको मकैबाली, गोपाल लोप्चनको ३ कठ्ठा करेलाखेती, ज्ञान बहादुर लोप्चनको २ कठ्ठा मकैबाली, लक्ष्मी श्रेष्ठको १ कठ्ठाको गोलभेडा खेती, राजु राईको २ कठ्ठाको मकैखेती, सञ्जय लोप्चनको १ कठ्ठाको केराखेती क्षति गरेको छ । त्यस्तै ४ दिन अगाडि स्थानीय ज्ञानु अधिकारी (भण्डारी) को घुम्तीमा रहेको किराना पसल हात्तीले फुटाई सामान खानुका साथै पुर्ण रूपमा क्षति पु¥याएको उहाँ ब्यबसायबाट बिस्थापित भएको वडा अध्यक्ष लिला बहादुर गुरुङले जानकारी दिनुभयो ।
हालसम्म सो हात्तीका कारण स्थानीयको करिव १० लाख रुपैया बराबरको क्षति भइसकेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । सो लंकालाईन क्षेत्र ताजा तरकारीको कृषि पकेट क्षेत्रको रुपमा रहेको गाउँ हो ।
सांसदद्वारा क्षतिको अवलोकन
बाग्मती प्रदेशका सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले जंगली हात्तीको कारण भएको क्षतिको आज अवलोकन गर्नुभएको छ । सांसद दाहालले क्षतिको अवलोकन गर्दै स्थानीयलाई परेको समस्याको तत्काल जिल्ला प्रशासन कार्यालय चितवनमा जानकारी गराउनुभएको थियो ।
उहाँले स्थानीयलाई परेको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई आग्रह गर्नुभएको थियो । साथै उहाँले स्थानीयलाई परेको समस्या समाधान गर्न तत्काल पहल गर्ने र समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको समेत बताउनुभयो । साथै उहाँले किसानहरुमा पुग्न गएको क्षतिको समेत क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो ।