
काठमाडौँ । यतिखेर विश्वभर कोराना भाइरसको त्रास फैलिएको छ । हालसम्म प्राप्त जानकारी अनुसार चीनका १८ शहरमा सङ्क्रमणको प्रकोप निकै तिव्ररुपमा फैलिएको छ ।
शनिवार सम्म चीनमा मात्रै यो भाइरसले ४२ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउने र संक्रमितको संख्यामा तिव्र वृद्धि भइरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमितको संख्या २८७ पुगेको छ । यो भाइरसको संक्रमणको कारण यात्रामा प्रतिबन्ध लगायत अन्य किसिमका सतर्कता अपनाइएका छन् । करिब पाँच करोड ६० लाख मानिस प्रभावित भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि एक जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । चीनको वुहान शहरबाट फर्किएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भेट्टिएपति स्वास्थ्य विशेषज्ञहरुले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
अमेरिकाको सियाटलमा पनि एक जनामा कोरोनाको संक्रमण भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् । यसको संक्रमण अझै फैलनसक्ने बताइएको छ । कोरोना भाइरस चीनको हुवेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको पुष्टि भएको हो ।
यस्तै जापनमा पनि एक जनामा यो भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसले विश्वका अन्य मुलूकहरु दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमासमेत प्रवेश गरीसकेको बताइएको छ । फ्रान्समा पनि तीनजनामा यसको संक्रमण भएको पुष्टि गरिएको छ ।
यो भाइरसबाट विश्वका अन्य मूलुकमा पनि संक्र बढीरहेको भएपनि हालसम्म मृत्यु हुनेमा चिनिया नागरिक मात्रै छन् ।
के हो कोरोना भाइरस ?
वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ । उक्त भाइरस कोरोनाभाइरस वर्गको एक खालको नयाँ प्रजातिका रुपमा विकास भएको वैज्ञानिकले बताएका छन् । उनीहरुका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो । वैज्ञानिकले सन् २००० को दशकको शुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन् । उनीहरुले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको सङ्क्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन् ।
लक्षण कस्ता छन् ?
यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो ।
यस भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा सोच्नुपर्ने बताएको छ । यस्तो अवस्थाको घोषणा गर्ने विषयमा सोच्न विश्व स्वास्थ्य सङ्गठनले भनिसकेकोले हाल चीनमा विशेष स्वास्थ्य विज्ञको समूहले आवश्यक प्रमाण जुटाउने काम गरिरहेको बताएका छन् ।
यस प्राणघातक भाइरसले उत्पन्न गरेको अवस्थासँग जुध्न विश्वव्यापीरुपमा नै जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गर्न सकिने विषयमा आवश्यक तयारी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस भाइरसका सङ्क्रमित चीन र चीनका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् ।
चीनका विभिन्न २५ प्रान्तका क्षेत्रमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ भने मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीले जानकारी दिएका छन् ।
हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै सबभन्दा बढी व्यक्तिको ज्यान गएको जानकारी दिनुभएको छ । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । अधिकारीले बढी उमेरका मानिसमा यसको सङ्क्रमण अझ बढी देखिएको बताएका छन् । डब्लुूएचओको तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै सङ्क्रमितका ६४ प्रतिशत पुरुष रहेका छन् ।
यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चीन सरकारले पछिल्लो समयमा यस सङ्क्रमणको नियन्त्रण तथा रोकथामका लागि सञ्चालन गरिरहेका कार्यक्रमको स्वागत गरेका छन् । उनले चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा यो सङ्क्रमणको अहिलेको अवस्था चर्किन सक्नेतर्फ सतर्क रहन र त्यसको रोकथामका उपायमा केन्द्रित हुन आग्रह गरेका छन्।
वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले कडा मात्रामा निगरानी गरिरहेको पनि बताइएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सहि जानकारी आइसेकेको छैन् । डब्लूएचओले यो भाइरस सम्भवतःपशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्ने बारे अझै स्पष्ट भइनसकेको जनाइएको छ ।
वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न पनि सबै नागरिकलाई आह्वान गरेका छन् । वुहान यस सङ्क्रमणको केन्द्रमा रहेकोले त्यहाँ बढी कार्यक्रम लक्ष्य गरिएको छ । झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि भनिएको छ । सरकारले शनिबारसम्म चीनका १८ वटा शहरकै यात्रामा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।
नेपालमा कोरोना भाइरस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस भित्रिन नदिन तयारी गरिरहेको जानकारी गराएको छ। मन्त्रालयले विमानस्थलको माध्यमबाट रोग भित्रिन नदिन २४ घन्टे हेल्थ डेस्कमार्पत विशेष सजता अपनाइरहेको जनाएको छ।हाल चीनबाट नेपाल आउने हरेक विमानै यात्रुलाई स्वास्थ्यसम्बन्धी फारम भरेर विमानस्थलमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ भन्छन्,‘हामी तयारी अवस्थामा छौँ। ओपन बोर्डर, चिनियाँ फ्लाइट ,गाडीबाट आउने यात्रुहरुका लागि सुरक्षा अपनाउने काम गरिँदै छ। कोरोना भाइरसको संक्रमणका लक्षण देखियो भने हामी सिधै एयरपोर्टबाट अस्पताल ल्याउने व्यवस्था गरिरहेका छौँ।’
उनले टेकु अस्पताल भरिएको खण्डमा पाटन अस्पताल विकल्पमा राखिएको जनाउँदै ठूला अस्पताल जस्तै शिक्षण अस्पताल, वीर अस्पताल तथा अरु गैरसरकारी अस्पतालमा पनि स्क्रिनिङ तथा उपचारको व्यवस्था गरिने जानकारी गराए। प्रवक्ता श्रेष्ठका अनुसार २ जना नेपालीलाई पनि यो भाइरस देखिएको आंशका गरिएको छ। उनीहरुले अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको उनले जानकारी दिए। उनीहरु दुवै चीनबाट फर्किएका हुन्।