चितवन । चितवनको सबैभन्दा ठूलो धनराशिको जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि नारायणगढमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै व्यवस्थापिका संसदका कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले खेलले राष्ट्रिय एकतालाई बलियो बनाउने बताए । खेलको माध्यमबाट खेलाडी र देशको नाम विश्वमा चिनाउन सकिनुका साथै आपसी भाइचारामा समेत वृद्धि हुने पोखरेलको भनाइ थियो । फुटबल, क्रिकेटलगायतका खेलले मनमुटावको अन्त्य गर्दै सम्बन्धहरुलाई प्रेममा परिणत गर्ने भएकाले खेल प्रेम, एकता र सद्भावको प्रतिक भएको पोखरेलले बताए ।
नारायणगढ जेसीजको आयोजनामा सञ्चालन भएको जेसीज विकास रनिङ शिल्ड कात्तिक ९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय र क्षेत्रीयगरि १० वटा समूह सहभागी भएको प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६६ रुपैयाँ र शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, सरस्वती, युनाइटेड दार्जिलिङ, झापा ११, चितवन ११ र मकवानपुर ११ ले सहभागिता जनाएका छन् ।
यसैबीच बिहीबार भएको उद्घाटन खेलमा चितवन ११ ले झापा ११ लाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा चितवन सेमी फाइनलमा प्रवेश गरेको छ । शुक्रबारको खेल संकटा क्लब र सरस्वती युवा क्लब काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।