नारायणगढको क्याम्पाचौरमा हुन लागेको जेसीज विकास रनिङ शिल्ड २०७६ को तयारी पुरा

चितवन । असोज ३० गतेदेखि नारायणगढको क्याम्पाचौरमा हुन लागेको जेसीज विकास रनिङ शिल्ड २०७६ को तयारी पुरा भएको छ ।

जेसीज विकास रनिङ शिल्डको आयोजक नारायणगढ जेसीजले आज प्रतियोगिता स्थल क्याम्पचौरमा पत्रकार सम्मेलन गर्दै खेलको तयारी पुरा भएको जनाएको हो ।


प्रतियोगिताका लागि मैदानको झार काट्नेदेखि प्याराफिट निर्माणको कामा सकिएको मूल संयोजक एवम् नारायणगढ जेसीजको अध्यक्ष विकासमान श्रेष्ठले बताए । फुटबल हेर्नका लागि करिब एक हजार आठ सय दर्शक अटाउने प्याराफिट निर्माण गरिएको श्रेष्ठको भनाइ छ । असोज ३० देखि कात्तिक ९ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय र स्थानीयगरि १० टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


यसअघि पत्रकार सम्मेलन गर्दै ए डिभिजनका आठ वटा क्लब सहभागी हुने भनिएपनि ती क्लबहरु सहभागिता संख्या घटेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, सरस्वती, युनाइटेड दार्जिलिङ, झापा ११, चितवन ११ र मकवानपुर ११ ले मात्रै सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ, शिल्ड प्राप्त गर्ने जनाइएको छ ।


करिब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको प्रतियोगिताबाट चार लाख रुपैयाँ बचत हुने आयोजकले जनाएको छ । प्रतियोगिताको क्वार्टर फाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमीफाईनल र फाईनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको