काठमाडौं । साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको आक्रमण प्रति नेपालले पनि निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले सोबार साँझ एक बिज्ञप्ति निकाल्दै सो हमला प्रति निन्दा गरेको हो ।
बिज्ञप्तिमा भनिएको छ- ‘व्यापारिक प्रतिष्ठानहरूमा समेत यस्ता संवेदनहीन आक्रमणको निशानामा पारिनु खेदजनक छ, राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सर्ना गर्दछ ।’
शनिबार साउदी अरबको दुई ठूला र प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेर आगजनी भएको थियो । अक्रमण सँगै साउदी सरकारको स्वामित्वमा रहेका ती केन्द्रमा आगो लागेसँगै तेल र ग्यास उत्पादनमा कटौती गरेपछि यसले अहिले विश्वभर चिन्ता थपिएको छ ।
यसअघि साउदीका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज् बिन सलमानले आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आइरहेको बताएको बिबिसीले लेखेको छ । यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो ।
यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताइ सकेका छन् । तर यसलाई अमेरिका लगायतले पत्याएका छैनन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ती ड्रोन यमनबाट आएको भन्ने कुराको कुनै प्रमाण नभएको र यो इरानबाट हमला भएको बताएका छन् ।
पोम्पेओले यस आक्रमणलाई विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व र घातक आक्रमण भनेका छन् । सो आक्रमणमा यमनमा सक्रिय इरान समर्थित हूथी विद्रोही जिम्मेवार भएको बताइएको छ ।