काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दीपावली सकिएको भोलिपल्टै आज ६ वटा उद्योगको लाइन काटेको छ ।प्राधिकरणले उद्योगीहरुलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न दिएको अल्टिमेटम हिजोसम्म रहेकामा अटेर गरेपछि लाइन काटेको जनाएको छ ।
प्राधिकरणले मंगलबार बिहानै ६.२० देखि ७ बजेको बीचमा ६ वटा उद्योगमा लाइन काटेको हो ।प्राधिकरणले सबैभन्दा धेरै बक्यौता रहेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।
नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको काउन्टर तिहारको बिदाका सबै दिन खुल्ने र पहिलो किस्ता तिर्न आउने बित्तिकै तत्काल लाइन जोडिने जनाएको छ ।
प्राधिकरणले सूचना निकालेर बक्यौता तिर्न कार्तिक २ गतेसम्मको समय दिएको थियो । जसमा १३ वटा उद्योगले लाइन काटिने भएपछि बक्यौता तिर्न थालेका छन् । अब २६ उद्योगले बक्यौता तिर्न बाँकी छ ।









