
काठमाडौँ । चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।
यस्तै लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा जलस्तर खतराको तहमाथि पुगेको छ । बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभएको छ । त्यस्तै पश्चिम राप्तीमा ६ दशमलव ४८ मिटरमाथि पानी बगिरहेको छ । नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । चितवन र नवलपरासीको तटीय क्षेत्रमा जोखिम छ । मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ ।