काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा व्यवस्थापन सम्बन्धी प्रशिक्षण लिइरहनुभएका नेपाल सरकार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूको टोलीले आज सिंहदरबारस्थित रेडियो नेपालको अवलोकन भ्रमण गरेको छ ।

अवलोकन भ्रमण पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले सातै प्रदेश र २७ वटा एफ एम रिले स्टेशनबाट भइरहेको प्रसारण, आर्थिक अवस्था तथा समग्र विषयमा जानकारी गराउनुभयो ।

कार्यकारी निर्देशक केसीले सहभागी अधिकृतहरूको जिज्ञासामा रेडियो नेपालको ९१ प्रतिशत जनसङ्ख्यामा प्रसारण पहुँच रहेको र बाँकी क्षेत्रमा टेरेस्टियल विधिमार्फत चाडै नै प्रसारण पुर्‍याउने योजना रहेको बताउनुभयो ।

उहाँले रेडियोको विगतको अवस्था, वर्तमान र भविष्यका रणनीतिबारे प्रष्ट पार्नुहुँदै रेडियो नेपालबाट स्थानीय तथा केन्द्रिय प्रसारण अनलाइन माध्यम, ओटीटी प्लेटफर्म, एफएम, मिडियम वेभ,  लगायतका माध्यमबाट विश्वभर नै सुन्न सकिने जानकारी दिनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्र भुषण लाल दासले रेडियो नेपालले सस्तो लोकप्रिय हुने कार्यक्रमभन्दा पनि सत्य तथ्यमा आधारित राष्ट्रिय एकतालाई बलियो बनाउने कार्यक्रम प्रसारणलाई सधैँ प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा अधिकृतहरूको जिज्ञासामा रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्ण चन्द्र पौडेल, कार्यक्रम महाशाखा प्रमुख नवराज लम्साल, प्रशासन महाशाखा प्रमुख बद्री विशाल तुण्डकार, इन्जिनियरिङ महाशाखा प्रमुख उदय कृष्ण श्रेष्ठ र तालिम शाखा प्रमुख जनार्दन विष्टले प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !