चितवन । गए रातिदेखि नै पहिरोका अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।  २० घण्टादेखि अवरुद्ध सो सडक सञ्चालनमा नआउँदा यात्रुले सास्ती भोग्नु परेको छ । गनतव्यमा हिंडेका यात्रुमा सडकमा नै अलपत्र परेका छन् । गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।

पहिरो पन्छाउने काम भइरहे पनि आज सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए । पन्छाउने क्रममा माथिबाट पहिरो खसेर फेरि पुरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । ‘पहिरो पन्छाउँदा पन्छाउँदै फेरि खसेर पुरिएको छ’, उनले भने भने ।

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्नेे केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको उनले बताए ।

पहिरोले सडक अवरुद्ध भएपछि नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारी साधन नवलपुरकै रोकिएका छन् । नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारीसाधन नवलपुरमै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको बताए । चितवनतर्फ सवारीसाधनको चाप कम गर्नका लागि सवारी साधनलाई नवलपुरमै रोकिएको उनले बताए ।

उता नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ ।

यसैबीच नारायणगढ मुग्लिन सडकका ठाउँ-ठाउँमा पहिरो खसेको र वर्षाका कारण पन्छाउन समस्या भइरहेको भन्दै यात्रा गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह छ ।

प्रतिक्रिया दिनुहोस !