चितवन ।  जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, पहिरो, कटान तथा डुबानको जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षासँगै नारायणी, राप्ती, रिउलगायात साना ठूला नदी तथा खोलाहरुमा पानीको वहाव बढेकोले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो । प्रशासनले भारी वर्षाका कारण बाढी, पहिरो, कटान तथा डुबान हुन सक्ने भन्दै उक्त जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह पनि गरेको छ ।

बाढी आएको तथा पानीको तह उच्च रहेको अवस्थामा नदी नालाहरुमा माछा मार्न, पौडी खेल्न तथा काठ दाउरा संकलनका लागि नजान पनि प्रशासनद्धारा जारी सूचनामा भनिएको छ । यस्तै नारायणगढ मुग्लिन सडकका ठाउँ-ठाउँमा पहिरो खसेको र वर्षाका कारण पन्छाउन समस्या भइरहेको भन्दै यात्रा गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको आग्रह छ ।

प्रशासनको सूचनामा विपद्का घटना घटे वा घट्न सक्ने जोखिम देखिए नजिकको प्रहरी कार्यालय, नेपाल प्रहरी नम्बर १००, जिल्ला आपतकालिन सञ्चालन केन्द्रको मोबाइल नम्बर ९८४४२०८८८८ मा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !