कास्की । पोखरामा शुक्रवारदेखि सुरु भएको प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ आज सकिएको छ । आगामी मेयर सम्मेलन भरतपुरमा गर्ने गरी सम्मेलन सकिएको हो ।

पोखराका मेयर धनराज आचार्यले भरतपुरका मेयर रेनु दाहाललाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झन्डा हस्तान्तरण गर्दै दोस्रो मेयर सम्मेलन भरतपुरमा गर्न स्वीकृति प्रदान गर्नुभयो ।

मेयर सम्मेलन भरतपुर भ्रमण वर्ष २०८० मा हुने बताइएको छ । सम्मेलनले विभिन्न निर्णय गरे पनि सार्वजनिक भने गरिएको छैन । सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी हुनुहुन्थ्यो ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिएको थियो ।

यसैगरी उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदानका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून तथा तिनका कार्यान्वयनका चुनौतीबारे आ–आफ्नो अनुभव आदानप्रदान गर्नुभएको थियो ।

सम्मेलनले महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सघाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !