काठमाण्डाै ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहरभित्रको गिरोहले नै फोहरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ।

आज काठमाण्डौको वङ्घ इन्द्रचोक र ऐतिहासिक वङ्घ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोहरमैला सामान्य कुरा भए पनि फोहरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताउनुभयो । उहाँले पालिकाले नै अब फोहरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताउनु भयो । उहाँले सरसफाइको योजना पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले ‘नाइट टुरिजम’ व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताउनुभयो । उहाँले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकाले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस !