काठमाडौँ ।  गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मन्त्री खाँणले दाहालको निवास ललितपुरको खुमलटार पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयहरूमा छलफल भएको छ । दाहाल र मन्त्री खाँणबीच नागरिकता विधेयकको कार्यान्वयन, चुनावको मिति घोषणालगायत विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारी छ । अध्यक्ष दाहालले बिहीबार मात्रै सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा गर्ने बताएका थिए । मन्त्री खाँणले बिहीबार माओवादी नेता कृष्णबहादुर महरासँग पनि छलफल गरेका थिए ।

निर्वाचन आयोगले यसअघि नै आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न परामर्श दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !