काठमाडौँ ।  भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणका बारेमा जानकारी थियो ।

धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुआती प्रयास तथ्यहरुको खोजी गर्दै जाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो ।

गुरुहरुले दिएको सुझावलाई आत्मसात् गर्दै जाँदा सिस्नोसँग मितेरी साइनो लगाउने प्रयास खण्डित भयो । त्यसपछि उहाँको दिमागमा आफूसँगै हुर्केको बकाइनोको रुखको याद आयो । “मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ”, श्रेष्ठले भन्नुभयो ।

बाथरोगदेखि सेतो दुबीसम्म निको पार्ने औषधीय गुण बकाइनोमा हुन्छ भन्ने सुनेका श्रेष्ठले बुझ्दै जाँदा बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरासमेत निको भएको पत्ता लाग्यो । “नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुण बोकेको बकाइनोका बारेमा अध्ययन गर्ने निष्कर्षमा पुगेँ”, उहाँले भन्नुभयो, “तर त्यसले मात्रै मेरो अध्ययनको दायरा पुग्दैनथ्यो । त्यसपछि मैले बकाइनोसँगै कालो निउरो र अल्लोलाई पनि एक आपसमा जोडेर खोजबिन गर्ने निष्कर्ष निकालेँ ।”

विशेषतः पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो बकाइनो । वनस्पतिको आनुवांशिक अध्ययन गर्ने विषय आफैँमा सजिलो काम होइन । तर श्यामशरणले त्यही गाह्रो काम रोज्नुभयो । उमेरले साढे तीन दशक पुग्दा नै नामको अगाडि डाक्टर लेखाउने धोको थियो सायद तर गर्दै भन्दै जाँदा त्यो धोको पूरा हुन चार दशक नै लाग्न गयो । सन् २०१६ देखि नै विद्यावारिधिको अध्ययन सुरु गर्ने सोच थियो, उहाँको । ‘गोरखा भूकम्प’, पारिवारिक दायित्वले थिच्यो, उहाँलाई । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै श्यामशरणले सन् २०१७ देखि अल्लो, कालो निउरो र बकाइनोको रेशा केलाउने अध्ययन सुरु गर्नुभयो ।

मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग । वनमन्त्रालयको वनस्पति विभाग अनि वनजङ्गल उहाँका अध्ययन क्षेत्र थिए । अनेकन अनुमति, अनेकन प्रक्रिया अनि अनेकन खोज सबै काम सँगसँगै अगाडि बढे । “उन्यूमा खासै अध्ययन भएको थिएन । त्यसमा पनि कालो निउरोका बारेमा त झनै थिएन”, उहाँ स्मरण गर्नुहुन्छ । दक्षिणकालीको जङ्गलमा पुग्ने र निउरो खोज्ने काम नियमित हुन थाल्यो । सङ्गीता राजभण्डारी श्यामशरणको मुख्य गाइड ।
नेपाली समाजमा प्रचलित लोकोक्ति छ ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन । कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । त्यो पत्ता लगाउने उनै श्यामशरण हुनुहुन्छ ।

त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, बकाइनो, अल्लो र कालो निउरोमा क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो । संसारभर नै चैतमा खरमा डडेलो लागे जसरी फैलिएको क्यान्सर रोक्नका लागि ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो ।

अध्ययन भइरहेको थियो । एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे । उहाँले अभिवादन गर्नेबित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो । अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”
विशेषतःअल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशाधनका सामग्रीसमेत यसैबाट बनाउन सकिन्छ । त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् । यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान पनि प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरिर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा पनि स्थानीयस्तरमा पहिल्यैदेखि प्रयोग हुने गरेको छ । त्यसबाहेक यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी रहेको यसअघि नै पत्ता लागेको हो । अल्लो पछिल्ला दिनमा कार्पेट उद्योगमा पनि प्रयोग हुन थालेको छ ।

अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यातसमेत हुने गरेको छ । नेपालमा अल्लोको कपडा बनाउने उद्योगको पनि व्यावसायिक विस्तार भएको छ । हाल अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर रु १२०० देखि २००० सम्म छ ।

राष्ट्रियरुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न जिल्लामा अल्लोको उत्पादनमा विशेष जोड दिएको छ । अल्लोको प्रचुर सम्भावना भएको जिल्लामा छुट्टै उद्योग स्थापना गरेर त्यसलाई व्यावसायिक रुप दिनुपर्ने माग पनि बढ्दै गएको छ । पर्वत, सङ्खुवासभाका किसानले पनि अल्लोबाट व्यावसायिक लाभ लिएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन’अन्तर्गत अल्लो छनोट गरेको छ ।

नेपालको १२ सय मिटरदेखि ३१ सय मिटरको उचाइसम्म पाइने र अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जा–खिल्ल–जाखिल्मा’ पनि भनिन्छ । बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि देशमा अल्लोको कपडा निर्यात हुने गरेको छ ।

अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । नेपालको वन जङ्गल, पाखा पखेरा जतासुकै पाइने कालो निउरोबाट प्राणघातक क्यान्सर रोगको औषधि बन्नसक्छ भन्ने कुरा पत्ता लागेको छ । कालो निउरो मात्रै नभई बकाइनो पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपालमा फाइने अधिकांश वनस्पति कुनै न कुनैरुपमा काम लाग्दो औषधिका रुपमा प्रयोग गर्न सकिने खोजबिनबाट पत्ता लागेको छ । लगानीको अभाव तथा थप अध्ययनको अभावमा त्यसबाट फाइदा लिन भने सकिएको छैन । रासससँगको कुराकानीका क्रममा श्यामशरणले भन्नुभयो, “हामीले काम नलाग्ने भनेर खेर फालेका ती वनस्पति आफैँमा असाध्यै महत्वपूर्ण रहेको पाइएको छ ।”

बकाइनो एक बहुउपयोगी प्रजाति

नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन् । त्यसमध्ये एक हो, बकाइनो । बकाइनोमध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो । बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ ।

बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोग केही हदसम्म ठीक हुने डा श्रेष्ठको भनाइ छ । यसको प्रयोगले महिलाको गर्भाशयलाई पनि फाइदा हुन्छ । बकाइनो घर खेतबारीमा लगाउन सकिन्छ । यो बाख्राको प्रिय घाँस पनि हो । यही तथ्यमा रहेर अध्ययन गर्दा गर्भाशयको क्यान्सर रोक्ने क्षमता बकाइनोमा रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाई पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा छर्किंदा थुप्रै किसिममा किटाणु तथा सागसब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूल गर्न सकिन्छ । खेत तथा बारीको बीचभागमा बकाइनोको बिरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागसब्जीमा लाग्ने किरालाई समेत विकर्षण गराउन सकिने सामाजिक मान्यता छ ।

बाथरोग भएमा बकाइनोको गेडालाई रायो र सस्र्यूंमा पिनेर लेप लगाउँदा वाथ विस्तारै ठीक हुँदै जाने आयुर्वेद चिकित्सामा बताइएको छ । रगत जमेर गाँठो भएमा बकाइनोको पात पिनेर लेप बनाएर लगाउँदा घाउ छिट्टै निको हुनुका साथै रगत जमेर बसेको ठाउँ पनि सफा भएर जाने श्रेष्ठको भनाइ छ ।

बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ । सेतो दुबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठीक हुन्छ । दाद आएका खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाई कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ । पत्थरी रोगमा भएमा बकाइनोको एक चम्चा पातको रसमा र आधा चम्चा ज्वाखार मिलाएर बिहान÷बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थरी ठीक हुने प्रमाणित नै भइसकेको छ ।

यसैगरी बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्ने र चौथाइ भाग बाँकी भएपछि सिसीमा राखेर एक÷एक चम्चा बिहान–बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि दुई÷चार दिनमै ठीक हुने उहाँको भनाइ छ ।

बकाइनोलाई दाँत माँझ्न पनि प्रयोग गर्न सकिन्छ । स्त्रीको मासिक धर्म धेरै पटक भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहान÷बेलुका खाने गरेका उक्त समस्याबाट मुक्ति पाइन्छ । गर्भाशय शुद्धिका लागि पनि बकाइनोको पातको रस नित्य एक÷एक चम्चा बिहान÷बेलुका दिने गरेमा गर्भाशय शुद्धि हुने प्रमाणित नै भइसकेको छ ।

बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण–पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो । यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटरसम्म पाइन्छ । बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ । यो चिसो र सुख्खा क्षेत्रमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केबल १०–१५ मिटर अग्लो हन्छ । सुरिलो बेलनाकार काण्डको २० मिटरसम्म हाँगा हुँदैनन् । रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन् । यो राम्ररी मुना आउने प्रजाति हो ।

पहेँलो बैजनी वा बैजनी पाँच पत्रदल भएको झुप्पामा फुल्ने फूल साना र सुगन्धित हुन्छ । मार्च–अप्रिलमा फूल फुल्ने र डिसेम्बर–जनवरीमा फल पाक्ने गर्छ । फल गुदीदार, गुच्छा आकारको, छिप्पिदा हल्का पहेँलो हुने जाडोभर रूखमा झुन्डिरहन्छ र बिस्तारै चाउरी पर्ने र लगभग सेतो हुन्छ ।

बकाइनो उपोष्ण जलवायु क्षेत्रको रूख भए तापनि यो अत्यधिक अनुकूलनीय वनस्पति हो । यसले केही तुषारोसहित न्यानो शीतोष्णबाट आद्र उष्ण क्षेत्रसम्मको अवस्थाको विस्तृत दायरालाई सहन सक्छ । यो उष्ण क्षेत्रमा एक हजार, ८०० मिटरसम्मको उचाइमा हुर्किन्छ । यसले सबैभन्दा तातो महिना ३९ डिग्री सेल्सियसमा औसत अधिकतम तापक्रम सहन सक्छ । काठ कडा, केही गह्रौँ, सजिलै फुट्ने र केही हदसम्म टिकाउ छ । यो फर्निचर, प्याकिङ केस, निर्माण, सजावटी ढक्कन आदि बनाउन प्रयोग गरिन्छ ।

निउरो नयाँ स्वाद

श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उहाँलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके । त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भन्नुभयो । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उहाँको भनाइ छ ।

सन् २०२२ को जुलाई ४ मा मात्रै उहाँले विद्यावारिधिको उपाधि पाउनुभयो । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णतः जैविक हुन्छ ।

निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

आम्दानीका हिसाबले निकै राम्रो देखिएको निउरो स्वास्थ्यका हिसाबले पनि त्यतिकै गुणकारी रहेको छ । पौष्टिकताले भरिपूर्ण भएको वनस्पतिका रूपमा चित्रण गरेका छन् । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका धेरै पौष्टिक तत्व पाइन्छन् । भिटामिन ‘ए’ लगायत विभिन्न सुक्ष्म पौष्टिक तत्व पाइने भएकाले बच्चा र गर्भवती महिलालाई कुपोषणबाट बचाउन निउरोले निकै मद्दत गर्छ ।

यस्ता विवरण सुनाउँदै भक्तपुरे रैथाने श्यामशरणले भन्नुभयो, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवद्र्धन गर्न ‘पिपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवद्र्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा”, उहाँले भन्नुभयो, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गराँै । त्यसका लागि सरकारले नै चासो देखाओस् ।” पछिल्ला दिनमा नेपालका वनस्पति र त्यसको गुणका बारेमा खोजविनसमेत बढेको भन्दै ‘उन्यूका डाक्टर’ श्रेष्ठले भन्नुभयो, “लगानी बढाआँै, प्रतिफल हासिल हुन्छ ।”-रासस

प्रतिक्रिया दिनुहोस !