काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाउँदै आफूहरूलाई यस्तो सधैँ स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन नसक्नेबारे माओवादीले पनि सोच्नु पर्ने उनको भनाइ छ ।आफ्नो फेसबुक पेजमा लेख्दै नेता श्रेष्ठले गठबन्धन सरकार र भोट आफूहरूका लागि साध्य नभएको पनि जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक बहुमतबाट पारित भएको भोलिपल्ट शनिबार माओवादी नेता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् । जबकि उनको दल माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनका दलहरूले प्रतिनिधिसभाबाट विधेयक पारित गरेका थिए ।

नेता श्रेष्ठले भने विधेयक पारित भएकोमा खुसी व्यक्त गरे पनि विधेयकमा व्यवस्था भएको वैवाहिक अंगीकृतले नागरिकता पाउने प्रावधानबारे असहमति जनाएका छन् । साथै यसको प्रक्रियामा पनि उनको असन्तुष्टि देखिएको छ । ‘यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ,’ नेता श्रेष्ठले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !