
हेटौँडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा संस्थापन र इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रेपछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।
झन्डै ८ वर्षपछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौँडा आइपुगेका छन । देशभरका १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन ।
नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट सभापतिमा अनिता बिन्दु र संस्थापनइतर पक्षवाट शिव लम्सालले आ-आफनो दाबेदारी प्रस्तुत गरेका छन ।
महाधिवेशनमा संस्थापन पक्षवाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापनइतर समूहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।
उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहालबीच प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल र इतर समूहवाट दीलिप पौडेल मैदानमा छन् ।
संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इतर समूहबाट विष्णु क्षेत्री रहेका छन् । संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा छन् ।
केन्द्रीय उपाध्यक्ष सुदूरपश्चिमका लागि हरिश भट्टलगायत छन् भने महिला उपमहासचिवमा कुसुम विक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी, खुल्ला सचिवका लागि नागरिक दैनिकका भुवन शर्मा,खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायत मैदानमा उत्रेका छन् भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।
लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौंको दाबी छ ।
विरोधपछि मनोनयन शुल्क घटाइयो
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइएको छ ।
रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि निर्वाचन समितिले दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुमागाईँले बताए ।
नयाँ दस्तुर अनुसार अध्यक्षले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ । यसअघि अध्यक्षको ३० हजार थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकले जनही १० हजार रूपैँया उम्मेद्वार शुल्क बुझाउनुपर्नेछ ।
यसअघि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवको २५ हजार तथा सचिव, कोषाध्यक्ष तथा केन्दीय लेखा समिति संयोजकका लागि २० हजार तोकिएको थियो ।
केन्द्रीय सदस्यको उम्मेदवारका लागि १५ हजारबाट अब ५ हजारमा झारिएको छ । लेखा समिति सदस्यले पनि ५ हजार बुझाउँदा हुने भएको छ ।