काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ ।
आज (बिहीबार) सिंहदरबारमा लिइएको बयानकाक्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गर्र्नुभएको छ ।

शर्माले नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बयान समिति समक्ष दिनुभएको हो ।

शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई बयानका लागि आज समितिमा बोलाएको थियो । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति गठन गरिएको थियो भने तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो ।

शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप छ ।

यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ ।

संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !