काठमाडौँ ।   एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउनका लागि प्रयास गर्न नहुने बताएका छन् । उनले सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने पनि दाबी गरे ।

एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बुधबार ओलीले आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथ लिन आवश्यक नभएको पनि बताए । ‘यिनीहरूको उद्देश्यमा, गन्तव्यमा, एकता होइन स्वार्थको एकता हो । स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले,’ उनले भने ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एउटै प्रवृत्तिका दलहरू भएकाले उनीहरूमध्ये एउटालाई एमालेले आफ्नो साथमा लिएर अरुविरुद्ध लड्न आवश्यक नभएको ओलीको भनाइ थियो । त्यसो गर्दा राष्ट्रिय हित नहुने र पार्टीलाई पनि फाइदा निमल्ने उनको तर्क थियो ।

तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पुर्‍याएको र कारबाही गरिएको स्मरण गर्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेकाहरू वामपन्थी दल हुनै नसक्ने बताए । माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उनको भनाइ थियो । ‘हामीले दिएको तागत लिएर, एकता गर्दा मैले दिएको तागत लिएर हामीलाई सडकमा पुर्‍याएको होइन ? भविष्यमा समेत अयोग्य हुने गरी कारबाही गर्नेहरू होइनन् ? हामीले दिएको संख्या दुरुपयोग गरेर,’ उनले भने ।

एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त थियो । ‘कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ,’ उनले भने । तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उनको भनाइ थियो । आफ्नै कार्यकर्ता अर्को दललाई भोट हालिरहेको अवस्थामा पार्टी फुटाएर, सरकार ढलाएर जानेहरू आउनेमा आफूलाई विश्वास नभएको भन्दै उनले आग्रह गरे, ‘देश बनाउने कुरामा यी आउलान्, लाग्लान् भन्ने विश्वास छैन । यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराख्या बेलामा त्यस्ताको के विश्वास गर्नु । त्यसैले पार्टी बनाउन, पार्टीको शुद्धीकरण थालौं । आफूलाई कम्युनिस्ट बनाउँ ।’

प्रतिक्रिया दिनुहोस !