गलेश्वर ।  ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ ।

समाजको हितका लागि आफ्नो तर्फबाट गरिने उपकारमूलक कार्य नै सामाजिक परोपकार हो । सामाजिक परोपकारका विभिन्न क्षेत्रमध्ये अनिकाल र आपत्विपत्मा परेकालाई समाजका सबै सदस्य मिलेर सहयोग गर्ने । भविष्यमा आउन सक्ने सङ्कटलाई मध्यनजर गर्दै पहिलेदेखि नै अन्नलगायतका आवश्यक सामग्रीको जोहो गर्ने प्रचलन समाजमा थियो ।

पहिलेपहिले अनिकाल र विपद् पर्दा हुनेले अन्न दिने, नहुनेले लाने प्रथा थियो । गाउँलेले त्यसलाई ‘धर्म भकारी’को नाम दिएका थिए । किसानले मुठ्ठी दान गरेर धर्म भकारीमा अन्न थुपार्थे । अन्न नासिँदा, खडेरी वा बर्खा आदि समयमा त्यही अन्नको पालोपैँचो चल्थ्यो । भोकमरीमा हातमुख जोरिन्थ्यो ।

समय फेरियो । गाउँघरमा पुस्तौनी प्रथाका रुपमा रहेको धर्म भकारी समयक्रममा भने हराउँदै गयो । अर्थोपार्जनका नयाँ उपाय निक्लिए । बजार बस्यो । पैसाबाट किनमेल हुन थाल्यो । सहकारी र बैंकहरु खुले । मानिसले ऋण लिन थाले, एैँचोपैँचो बिर्से । यसले धर्म भकारीजस्ता सामाजिक चल्ती र थिति ओझेलमा परे तर आधुनिक विकासको चरम स्थितिमा पनि हाम्रा गाउँघरमा अझै पनि पुराना संस्कृति र जीवनशैलीका अवशेष बाँकी छन् ।

त्यसकै एक उदाहरण हो, म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धर्म भकारी । ठ्याक्कै उहिल्यैकै स्वरुप र तरिकामा नचले पनि गाउँलेले जेनतेन त्यसलाई जोगाएका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई खाद्यान्नको सङ्कट पर्दा सारथी बन्दै आएको धर्म भकारी खाद्यान्नको आयात बढेसँगै संरक्षणको पर्खाइमा छन् ।

पछिल्लो समय बजारबाट आयातित खाद्यान्न छ्यापछ्याप्ती गाउँघरमा आउन थालेपछि ताकमस्थित धर्म भकारी सङ्कटमा पर्दैै गएको स्थानीयवासी गोपाल आचार्य बताउनुहुन्छ । स्थानीय प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले ताकममा सञ्चालन गरेको धर्म भकारीको महत्व खाद्यान्न आयातका कारण कम हुँदै गएको हो ।
स्थानीय गोपाल आचार्यका अनुसार अहिले सो अन्न भकारीमा ४०÷४५ मुरी धान मात्र रहेको र आगामी असोज÷कात्तिकबाट कोदो, मकै, गहुँ पनि सङ्कलन गर्ने योजना रहेको छ । पहिला गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मङ्सिरमा धान उठाएपछि सदस्यसँग सङ्कलन गरेर धर्म भकारीमा राख्ने र चाडबाडको अवसर पारेर भदौ, असोजमा आवश्यक पर्ने सदस्यलाई धान उपलब्ध गराउँदै आएको संस्थाका पूर्वअध्यक्ष रुक्मिणी पौडेलले जानकारी दिनुभयो ।

“धर्म भकारी अलि पहिलैबाट सञ्चालित थियो, त्यसलाई थप व्यवस्थापनका लागि २०६८ सालमा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्दै आएका छौँ”, आचार्यले भन्नुभयो, “तर पछिल्लो समय खाद्यान्नको आयातका कारण धर्म भकारीको महत्व कम हुँदै गएको छ ।”

नब्बे जना शेयर सदस्य रहेको संस्थाले सुरुका वर्षहरुमा मङ्सिरमा धान भित्र्याउने समयमा खलो (धान झाँट्ने ठाउँ) बाट नै ८० मुरीसम्म धान सङ्कलन गर्दै आएको थियो । संस्थाले शेयर सदस्यसँग शेयरका रुपमा धान सङ्कलन गर्ने र सङ्कटको समयमा सदस्यलाई नै उपलब्ध गराउँदै आएको छ । संस्थाबाट धान लैजाने सदस्यले मङ्सिरमा पाँच पाथीको थप एक पाथीसहित संस्थामा धान बुझाउनुपर्दछ । धान लगेको सदस्यले मङ्सिरमा धान नै उपलब्ध गराउनुपर्छ, धानको सट्टा पैसा दिन पाइँदैन ।

चाडबाडको समयमा चामलको अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो, स्थानीय ईश्वरी आचार्यले भन्नुभयो, “पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छोडेपछि धर्म भकारीको महत्व पनि क्रमशः कम हँुदै गएको छ ।” पहिलेपहिले चाडबाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्म भकारी आवश्यक ठानेर स्थानीय अगुवाले यसको सञ्चालन गर्नुभयो, हराउला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत व्यवस्थापन गर्दै आएका छौँ, तर अझै यसलाई व्यवस्थापन गर्न संस्थालाई धौधौ परेको स्थानीयले बताएका छन् ।

संस्थाले पछिल्लो समय सदस्यसँग साप्ताहिक रुपमा वचत सङ्कलन र कर्जा लगानीसमेत गर्दै आइरहेको छ । “हामी अझै अलमलमा छाँै, कसरी यसलाई संरक्षण गर्ने र सहकारीलाई सदस्यको सेवामा लगाउने भन्ने विषयमा सरोकारवालाका तर्फबाट सहयोगको अपेक्षा गरेका छौँ”, भन्नुभयो ।

गाउँघरमा उत्पादन हुने खाद्यान्नलगायतका वस्तुको उत्पादन, भण्डारण र प्रयोग कम हुँदै गएको, आयातित खाद्यान्नका कारण गाउँका जनताको आम्दानी बजार झरेको र विभिन्न प्रकारका विषादी प्रयोग भएका खाद्यान्न खान थालेका कारण रोगको प्रकोपसमेत बढेको स्थानीयवासीको भनाइ रहेको छ ।
गाउँमा चाडबाडको समयमा चामलको समस्या हुन नदिन, महिलालाई सङ्गठित भएर काम गर्न, नेतृत्व विकासका लागि सहयोग पुगोस भनेर धर्म भकारी सञ्चालन गर्नुका साथै त्यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको स्थानीयवासी देवेन्द्र थापाले बताउनुभयो । उहाँले धर्म भकारीलाई सबैको सहयोग र समन्वयमा निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

ग्रामीण क्षेत्रमा सहकारीले जनताको आयस्तर उठाउन तथा सहज जीवनयापनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्, सहकारीको प्रवद्र्धनका लागि स्थानीय तहलगायत सरकारी निकाय र अन्य सङ्घसंस्थाको समेत सहयोग हुनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

धर्म धकारीबाटै पछिल्लो समय खाद्य बैंकको अवधारणा आएको पाइन्छ । देशका विभिन्न ठाउँमा यस्त खाद्य बैंकमार्फत किसानलाई बीउबिजन र अन्नपात वितरण गर्ने गरिन्छ । चाहिँदाको बेला धर्म भकारीबाट अन्न झिकेर लान पाइने र पछि प्रतिपाथिको एक मानाका दरले ब्याजसहित फिर्ता गर्नुपर्ने नियम समितिले बनाएको छ । धर्म भकारीको रेखदेखसहित अन्न लेनदेनको प्रबन्ध समूहले नै गर्ने गरेको छ ।

वर्षभरिमा जहिले अन्न लगे पनि नयाँ अन्न फलेर भित्र्याउने याममा अन्न फिर्ता गर्नुपर्छ । यदि त्यसबेला सबै फिर्ता गर्न नसके ब्याजबापतको मात्र धर्म भकारीमा जम्मा गरी र बाँकी आउँदा वर्षमा तिर्न पनि सकिने व्यवस्था छ । धर्म भकारीलाई व्यवस्थित गर्न भवन निर्माण समेत गरिएको छ । स्थानीय स्व झनबहादुर थापा र उहाँकी श्रीमती लाटीदेवी थापाबाट रु पाँच लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको र सोही जग्गामा श्रमदानबाट भवन निर्माण गरिएको ताकमकी अगुवा महिला नेत्री अमृता भण्डारीले बताउनुभयो ।

आयातित सामग्रीको बढ्दो प्रभाव र सहरकेन्द्रित बसाइँसराइका कारण गाउँघरमा समेत भकारी राख्ने प्रचलन हराउँदै गएको समयमा धौलागिरि गाउँपालिकाको ताकममा रहेको धर्म भकारी यस क्षेत्रको एउटा उदाहरणीय काम बनेको छ ।

खाद्यान्न व्यवस्थापन चुनौतीपूर्ण: एफएओ

नेपालमा अहिले पनि अधिकांश परिवार कृषिमै आश्रृत छन् । अझै पनि ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क छ तर, खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसरी खाद्यान्न उत्पादन घट्दै जाने र आयातित खाद्यान्न पनि रोकिने समय आयो भने यस्ता धर्म भकारी तत्कालको राहतका लागि निकै उपयोगी रहनेछन् ।

विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न सङ्कट हो । स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउबिजन लोप हुँदै जानु २१ औं शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती भएको एफएओको प्रतिवेदनमा भनिएको छ ।

सन् २०२५ सम्ममा विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठूलाठूला कम्पनीले विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । पृथ्वीको जनसङ्ख्या पनि दिनानुदिन बढ्दो क्रममा छ र बढ्दो जनसङ्ख्याको अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यवसायीकरण गर्न जरुरी देखिएको वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्की बताउनुहुन्छ ।

सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको धेरै निर्यात गर्ने देशमा छैटौँ स्थानमा पर्दथ्यो तर विस्तारै नेपालमा कृषि कार्य ह्रास हुँदै जाँदा आज चामललगायत धेरै कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । वैदेशिक रोजगारप्रति युवाको आकर्षण बढ्ने क्रमले पनि कृषि पेसा उपेक्षित बन्दै गएको छ ।

भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ । हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । स्कुलको पाठ्यक्रममा पूर्वव्यावसायिक शिक्षाका रुपमा कृषि कार्य र औजारबारे शिक्षा दिने विषय हटाइएकाले विद्यार्थीमा कृषि कार्यप्रति उत्सुकता जगाउन र ज्ञान बढाउन नसकिएको डा कार्कीको भनाइ छ ।

ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव र भोकमरीको समस्या भएको खण्डमा यस्ता धर्मभकारीको महत्व र उपयोगिता बल्ल थाहा हुनेछ । ताकमेलीको सिको गर्दै अन्य स्थानमा पनि धर्म भकारी स्थापना गरी व्यवस्थितरुपमा सञ्चालन गर्न सकिएमा भोकमरीको समस्या कम गर्न सहयोग पुग्नेछ ।-रासस

प्रतिक्रिया दिनुहोस !