काठमाडौं । सेयर बजार लगानीकर्ताले २०७८/२०७९ मा ११ खर्ब ४१ अर्ब ६२ करोड गुमाएका छन्। यस वर्ष नेप्से परिसूचक ८ सय ७३ दशमलव ९२ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आर्थिक वर्षको अन्तमा सेयर पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड छ। भदौदेखि सेयर बजार निरन्तर घट्न थालेको थियो। वर्षको अन्तिम कारोबार दिन नेप्से २ हजार ८ सय ८३.४० अंकमा बन्द भएको थियो। सो समयमा सेयर बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो। चालू आर्थिक वर्षमा कारोबारको अन्तिम दिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ को बिन्दुमा पुगेको छ।

सेयर सुधारमा सरकार नलागे साना लगानीकर्ताको उठिबास हुन्छ, बैंक पनि अफ्ठ्यारो स्थितिमा पुग्छन् । – किञ्चनकृष्ण न्यौपाने, अधिवक्ता
साउन ३१ गते हालसम्मकै सर्वाधिक २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसदिन ३ हजार २ सय २० अंकसम्म पुगेर ३ हजार १ सय ९८ को बिन्दुमा रोकिएको थियो। असार ९ गते नेप्से परिसूचक यस वर्षकै सबैभन्दा कम १ हजार ८ सय ४८ को बिन्दुमा पुगेको थियो। असारमा सेयर बजार पुँजीकरण ४४ खर्ब ६८ अर्बको थियो।

अधिवक्ता कञ्चनकृष्ण न्यौपाने राजनीतिक पूर्वाग्राही र नेताको बोलिका कारण पनि सेयरबजार प्रभावित हुने गरेको बताउँछन्। अर्थमन्त्री र गभर्नरको झगडाले पनि सेयर बजार नराम्ररी प्रभावित बन्न पुग्यो। ‘सेयरबजारको संरक्षण नगरे श्रीलंकाको बाटोतिर पुग्न सक्छौं,’ न्यौपाने भन्छन्, ‘सेयरमा सरकारले नीतिगत सुधार गरी सम्बोधन गर्नुको विकल्प छैन।’ सेयर बजार अर्थतन्त्रको प्रतिविम्ब मानिन्छ। सेयर बजारले नै देशको अर्थतन्त्र कस्तो छ भन्ने संकेत गर्छ। त्यसैले लगानीकर्ताको संरक्षण गर्नुपर्ने उनी बताउँछन्। यहाँ सानादेखि ठूला लगानीकर्ता सेयर बजारमा प्रवेश गरेका छन्। तर, ठूला लगानीकर्ता हाबी हुने गरेका छन्। ‘सेयर सुधारमा सरकार नलागे साना लगानीकर्ताको उठिबास हुन्छ, बैंक पनि अफ्ठ्यारो स्थितिमा पुग्छन्,’ न्यौपाने भन्छन्।

सरकारको नीतिका कारण लगानीकर्ताको मनोबल घट्दै गएको उनी बताउँछन्। धितोपत्र बोर्ड ऐन २०६३ पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको पनि लगानीकर्ता बताउँछन्। नेपाल राष्ट्र बैंकले ल्याएको ४/१२ को नीतिले एउटा बैंकबाट ४ करोड र तीनवटा बैंकबाट १२ करोडसम्ममात्र सेयर धितोमा ऋण लिन पाइने व्यवस्था गरेको छ। मौद्रिक समीक्षामार्फत उक्त प्रावधान हटाउन लगानीकर्ताले दबाब दिएका थिए।

‘धेरै लगानीकर्ताले बैंकबाटै ऋण लिएर सेयर बजारमा लगानी गर्ने हो’ नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘राष्ट्र बैंकको कसिलो नीतिका कारण सेयर बजार उठ्न नसकेको हो।’ राष्ट्र बैंकले भारित औसत दर सयबाट १ सय ५० प्रतिशतसम्म पुर्‍याएकाले पनि लगानीकर्ता निराश भएको ढकाल बताउँछन्। ४/१२ र भारी जोखिमको नीति करेक्सन नगरी पुँजीबजार सुधार नहुने उनी बताउँछन्। ‘बैंकमा तरलता पहिला पनि थियो, तरलता अभावले सेयर बजार घटेको होइन,’ ढकालले भने।

नेपाल धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनीको सेयर जोखिमपूर्ण भन्दै सूचना जारी गर्‍यो। ती कम्पनीले अस्वाभाविक चलखेल गरी कर्नरिङ गरेको बोर्डले दाबी गरेको थियो। त्यतिबेला सेयर बजार ‘आक्रामक’ ढंगले अघि बढेको थियो। उक्त समयमा २० अर्ब कारोबार हुँदा नेप्से परिसूचक ३ हजार थियो।

साउन ३१ गते सर्वाधिक २१ अर्ब ६४ करोड कारोबार
असार ९ गते नेप्से परिसूचक यस वर्षकै सबैभन्दा कम
२ सय ४० कम्पनीमध्ये ८५ प्रतिशत बैंक र बिमाको हिस्सा
अर्थ मन्त्रालय, नेपाल धितोपत्रलगायत कसैले पनि पुँजीबजारको मर्म बुझ्न नसकेको सेयर विश्लेषक बताउँछन्। ‘पुँजीबजारले सरकारलाई राजस्व दिएको मतलव छैन तर व्यक्तिले कमायो भनेर डाहा गर्ने प्रवृत्ति छ’ एक सेयर विश्लेषकले भने। व्यक्तिपरक नीतिनिर्माता हुँदासम्म सेयरबजारमा सुधार नआउने उनले बताए।

निरन्तर सेयर बजार घटेपछि लगानीकर्ताले धैर्य गुमाएर आन्दोलन गरे। लगानीकर्ता तिलक कोइराला आमरण अनशनमा बसे। १९ बुँदे माग राख्दै अनसन बसेका कोइरालासँग नेपाल धितोपत्र बोर्डले सहमति गर्‍यो। सहमति गरेसँगै नेप्से परिसूचक र कारोबारमा केही सुधार देखियो। तर, धेरै समय टिकेन।

सेयर बजारमा ५२ लाखभन्दा बढी आबद्ध भएका छन्। त्यसमध्ये १२ लाखले दोस्रो बजारमा नियमित कारोबार गर्छन्। सीए ऋषि पोखरेल सेयर बजारमा लगानी गर्दा जोखिम उच्च हुने बताउँछन्।

‘लगानीकर्ताको मनोबलमा बजार अडिएको हुन्छ’, पोखरेल भन्छन्, ‘कमाउने आशाले लगानी गर्ने हो तर, घटेर घाटा हुँदा लगानीकर्ता अत्तालिन्छन्।’ धितोपत्र बोर्डले ब्रोकरको लाइसेन्सको शाखा छिट्टै देशभर दिनुपर्ने, टीएमस परिमार्जन गरी अपडेट गर्नुपर्ने उनको सुझाव छ। भन्छन्, ‘सेयर बजारमा जसरी घट्छ। त्यसरी नै बढ्ने गरेकाले इतिहास दोहोरिने गरेको छ।’

सूचीकृत भएका २ सय ४० कम्पनीमध्ये झण्डै ८५ प्रतिशत बैंक र बिमाको हिस्सा छ। जसले गर्दा नेपाल राष्ट्र बैंक र बिमा समितिले लिने नीतिले सेयर बजारमा प्रत्यक्ष असर गर्छ। लगानीकर्तासमेत रहेका सिए पोखरेलका अनुसार सेयर बजारमा आउनेमध्ये अधिकांशमा ज्ञानको अभाव छ। annapurnapost

प्रतिक्रिया दिनुहोस !