काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरे ।

उनले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको स्पष्ट पारे । राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उनले उल्लेख गरे ।

“…हाम्रो मुलुक ल्यान्डलक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रूपमा अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, हाम्रो पूर्वप्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँसँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो,” उनले भने, “कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।”

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनका पक्षमा उभिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत जनाए । दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएका बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस !