चितवन । प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा त्यहाँका कर्मचारीहरुले सांघातिक आक्रमण गरेका छन ।
भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गरेको पत्रकार आचार्यले बताए । उनले कार्यालय प्रमुख सिंहको ठाडो निर्देशनमा आफूमाथि हातपात भएको आरोप लगाए ।
भोज चलिरहेको फोटो खिचेर फर्किने क्रममा उनीमाथि मदिराले मात्तिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेको पत्रकार आचार्यले बताए । जबरजस्ती फुत्किएर विद्युत कार्यालय परिसरबाट भागेका पत्रकार आचार्यलाई आक्रमणकारीले निकै परसम्म लखेटेका थिए । उनको छाती र हातमा चोट लागेको छ ।
यसै घटनालाई लिएर नेपाल पत्रकार महासंघ चितवन र प्रेस चौतारी नेपाल चितवनको सहयोगमा पत्रकार आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिएका छन् ।
पत्रकार आचार्य राससका चितवन सम्बादाता तथा चितवनबाट प्रकाशित हुने सञ्चारपत्र दैनिक र नारायणी अनलाइनका सम्पादक हुन ।
पत्रकार आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवास पण्डित नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी तथा विभिन्न सन्चार सम्बद्ध सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै निन्दा तथा भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !