चितवन ।  चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन भएको छ । आज भरतपुरको चौबिसकोठीमा चितवनका स्वतन्त्र युवाहरुद्धारा यौन हिंसा विरुद्ध प्रर्दशन भएको हो ।

गत शनिबार चितवनकी लेखक सरिता तिवारीले आफूमाथि भएको यौन हिंसाको घटना सामाजिक सञ्जालबाट बाहिर ल्याएपछि सो घटनाको विरोध गर्दै चितवनमा प्रर्दशन भएको थियो । प्रर्दशनमा सहभागिहरुले ‘सर्भाइभरलाई विश्वास गरौ’, ‘यौन हिंसा आरोपीलाई बहिस्कार गरौ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलाहरुलाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका हुन् । सो हिंसा विरुद्धको प्रर्दशनी कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा. सुवास बस्नेतले यौन दुव्र्यवहार घटना बाहिर ल्याउन अझैपनि कठिन रहेको उल्लेख गरे ।

उनले लेखक तिवारीले आफूमाथि भएको दुव्र्यवहारको घटना बाहिर ल्याउँर्दै गर्दा सामाजिक व्यवस्था, परिवेस र पितृसत्ताविरुद्ध बोल्न कति कठिन छ भन्ने देखिए पनि बोल्न कति जरुरी छ भन्ने साहासको प्रतिक बनेको उल्लेख गरे । समाजमा यौन दुव्र्यवहार घटना धेरै नै फैलिएको भन्दै महिला हिंसाका घटना बाहिर ल्याउनु आवश्यकता रहेको उनले बताए । लेखक तथा महिलाअधिकारकर्मी सावित्री गौतमले महिला कहिँ पनि सुरक्षित छैनन भन्ने कुराको भोगाइलाई तिवारीमाथि घटेको घटनाले थप एकपटक पुष्टी गरेको बताइन् । ‘आफ्नै सहयोद्धा ३० औँ वर्षदेखि एउटा वाद सिद्धान्तलाई बोकेर हिडेको मान्छेहरुबाट पनि हामी सुरक्षित रहेनछौ ।’ उनले भनिन्, ‘वर्षौ सम्म महिलाको मुद्धा बोकेर हिड्ने , महिलाहरु कहाँ छन् भनेर कविता लेख्नेहरु व्यक्तिबाट यौन हिंसा भएको थाहा पाउदा हाम्रो आघातको गहनता झन बढेको छ। ’

लेखक गौतमले यौन हिंसाका घटना बाहिरिएपछि सबैभन्दा पहिला पिडीत माथि विश्वास गर्नु महत्त्वपूर्ण पाटो रहेको बताइन् । महिला अधिकारकर्मी मिना खरेलले अहिले बाहिरीएको लेखक तिवारीमाथि भएको यौन हिंसाको घटना एउटा प्रतिनिधी घटनामात्रै भएको बताउँर्दै उनले महिलाहरु घरदेखि कार्यस्थलसम्म कहिँ पनि सुरक्षित नभएको उल्लेख गरिन् ।उनले भनिन् , ‘उहाँ एक प्रतिनीधी महिला हो । आरोपीलाई कुनै वाद विचार भनेर जोगाइयो भने तमाम महिला असुरक्षित हुनेछन् ।’ आरोतिलाई कानुनी दायारामा ल्याएर सार्वजनिक नगर्दासम्म आम महिलाहरु यस्ता खाले परिस्थीतीबाट गुज्रनुपर्ने बाध्यता रहिरहने उनले जिकीर गरिन् । उनले पिडितको पक्षमा आफुहरु उभिने र निर्भीक भएर आफ्ना सवाल राखिरहन तिवारीलाई अनुरोध गरिन् ।

तिवारीले २०७२ सालमा लेखक तथा कवि संगीत श्रोताले आफूमाथि यौन हिंसा गरेको भन्दै गत शनिबार सामाजिक सञ्जालबाट घटना बाहिर ल्याएकी थिइन् । आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएको समयमा यौन हिंसा गरेको लेखक तिवारीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !