काठमाडौं । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै नेकपा एमालेले सार्वजनिक लेखा बैठक बहिष्कार गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक बर्ष पुगिसक्दा समेत समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । हाल समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार शाह रहेका छन् ।

मंगलबारकाे बैठकमा सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर छलफल गर्न आग्रह गर्दा एमाले सांसदहरूले सभापतिको राजीनामा माग गरेका थिए । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

समिति बैठकमा एमाले सांसद विशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पूरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठीक भएन । हामी आश्चर्यचकित भएका छौं । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’ एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने अडान लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !